विराटचोकमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीद्वारा विरोध प्रदर्शनी


मणिराम दाहाल – सुन्दरहरैंचा, २९ असार । मोरङको सुन्दरहरैंचा विराटचोकमा अवस्थित बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले सामाजिक सुरक्षा कोषको विरोधमा मंगलबार बिहान सांकेतिक प्रदर्शन गरेका छन् । सरकारले कर्मचारीहरूको हक हितका लागि ल्याएको सामाजिक सुरक्षा कोषका विरुद्ध देशव्यापी रूपमा बैक तथा वित्तीय संस्थाका कर्मचारीहरूले सुरु गरेको आन्दोलनमा विराटचोकका बैंक तथा वित्तीय संस्थाहरूले पनि ऐक्यबद्धता जनाएका हुन् ।

सामाजिक सुरक्षा कोष विरुद्ध बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूको संगठन नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) ले खाइपाइ आएको सेवा सुविधा समेत कटौती हुने गरी कोषमा आफूहरूलाई आबद्ध गराउन लागिएको भन्दै सुरु गरेको आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन् । असार मसान्तअघि नै दर्ता हुन सामाजिक सुरक्षा कोषले पत्र काटेपछि देशभरिका बैंक तथा वित्तीय संस्थाका कर्मचारी आन्दोलित भएका हुन् । उनीहरूले बिहान कार्यालय खुल्ने बेलामा आफ्नो बैंकको अगाडि विरोधको कार्यक्रम गरेका छन् ।

यसै क्रममा बिराटचोकमा अवस्थित सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, नेपाल बंगलादेश बैंक, नबिल बैंक, एभरेष्ट बैंक, सिभिल बैंक, बैंक अफ काठमाण्डौं, प्राइम बैंक लगायत बैंकका कर्मचारीहरूले विरोध ब्यानर राखेर सांकेतिक रूपमा कालो ब्यानर र हातमा कालो पट्टि सहित विरोधमा उत्रिएका छन् । अषाढ २७ देखि ३० गते सम्मका लागि सबै बैंक तथा वित्तीय संस्थाहरूमा हरेक दिन बिहान १० बजेदेखि १०ः१५ सम्म संघको ब्यानरमा कोषसँग असहमति किन भनेर ब्यानर प्रदर्शन र बैंक कर्मचारीहरूले हातमा कालोपट्टि बाँधेर समेत विरोध प्रदर्शन गर्ने नेपाल वित्तीय क्षेत्र कर्मचारी संघ (फियन)ले जनाई सकेको छ ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरू पनि अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा आउन, कोषको नियमावली रहेको पेन्सन गणना विधि र ६० वर्षपछि मात्र कोषको रकम झिक्न पाइने व्यवस्था, पेन्सन सुरु भएपछि योगदानकर्ताको मृत्यु भएमा उसको पति वा पत्नीको जागिर वा पेन्सन लिइरहेको अवस्थामा पेन्सन नपाउने, तर सरकारी कर्मचारीलाई उसले दिने पेन्सन लिन भने बाधा नपुग्ने, आबद्ध भएको तीन वर्षपछि मात्रै ८० प्रतिशत रकम सापटी लिन पाउने, कोषले दिने पेन्सन प्रचलित ब्याजभन्दा कम हुने र साँवा गुम्ने अवस्था जस्ता बुँदामा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले धेरै चित्त नबुझाएका बुँदाहरू हुन् । समस्या समाधान नभए आन्दोलनलाई कडा बनाउने फियनले जनाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्