कृषि उद्यम गरेर मनग्गे आम्दानी गर्दै रतुवामाईका खड्का दम्पती


रतुवामाई, १ श्रावण । विदेशबाट फर्किने अधिकांश मानिसको मुख्य उद्देश्य भनेको कमाएको रकमले एउटा राम्रो घर बनाउने र ऐस आरामको जीवन जिउने नै हुन्छ । झन् अहिलेका युवाले त विदेश गएर एउटा राम्रो वाइक जोड्ने रहर पालेका हुन्छन् । मोबाइल तथा गरगहनाको सोख त झन् कति हो कति । विदेशमा पसिनासँग साटेर कमाएको रकमलाई उत्पादक क्षेत्रमा लाउने रहर भने कमैले पालेका हुन्छन् । तर रतुवामाईका एक खड्का दम्पतीले भने विदेशमा कमाएको सम्पत्तिलाई कृषि उद्योगमा लगाएर राम्रो कमाइ मात्र गरेका छैनन् जसको सहायताले आफूलाई परिचित समेत गराएका छन् । 

रतुवामाईका राजीव खड्कासँग लामो वैदेशिक अनुभव रहेको छ । उनी कतार, संयुक्त अरब ईमिरेट्स हुँदै कुवेतमा पाँच वर्ष बसेर १६ वर्षको वैदेशिक रोजगार छाडेर उनी आफ्नै गाउँमा केही गर्ने भनेर फर्किए । उनी फर्किएर गाउँमा बोयर बोका पालन गरिरहेका छन् । गाउँमै सुरु गरिएको उद्यमले उनलाई पैसाका साथै सन्तुष्टिसमेत दिइरहेको छ । 

राजीवकी श्रीमती हिमादेवि पनि लामो समयसम्म वैदेशिक रोजगारमा बसेर घर फर्किन । श्रीमानसँग मिलेर कृषि उद्यम सञ्चालन गरिन् । अहिले उनीहरूले सुरु गरेको व्यवसायबाट राम्रो आम्दानी लिन सकेका छन् । उनीहरूको फर्मको एउटै बाख्रालाई १० हजार देखी डेढ लाख मूल्य सम्म पर्ने गरेको छ । 

राजीवले कुवेत, कतार र संयुक्त अरब एमिरेट्स लगायतका मुलुकमा मासिक ५ लाख भन्दा बढी कमाइ गर्ने गरेका थिए । भने हिमादेविको पनि कमाइ राम्रै थियो । तर त्यति राम्रो कमाइले पनि उनीहरूलाई रोक्न सकेन । उनीहरूलाई आफ्नै गाउँमो मायालो तान्न सफल भयो ।

यो जोडिले अहिले रतुवामाईमा ३ बिगाहा भन्दा बढी क्षेत्रफलमा बाख्रा, गाई पालन गरिरहेका छन् । उनीहरूका फाममा अहिले बोयर, जमुनापारी, खरी र स्थानीय रैथाने जातका बाख्रा छन् । अहिले उनीहरूको पुरै समय यही फममा वित्ने गर्छ ।

उनीहरू विदेशमा चुहाएको पसिनाबाट आर्जित रकमलाई व्यवसायमा लगाउन पाउँदा खुसी छन् । उनीहरूले सरकारी अनुदान र बैङ्किङ कर्जा समेत लिनु परेको छैन । अहिलेसम्म जेजति लगानी आफूहरूले कमाएको पैसाबाटै गरिरहेका छन् । विदेशमाजति नभए पनि आफ्नो गाउँमै व्यवसाय सञ्चालन गर्न पाएकोमा राजीव खुसी छन् भने हिमादेवी पनि आफ्नै परिवारसँगै बसेर आफ्नै देशमा उद्यम गर्न पाएको खुसी लागेको बताउँछिन् ।

रतुवामाईका यी खड्का दम्पतीले जस्तै विदेशबाट फर्किएका अरूले पनि आफ्नै गाउँमा यसरी नै व्यवसाय सञ्चालन गर्ने हो भने नाम र दाम दुवै कमाउने पक्का छ । 

प्रतिक्रिया दिनुहोस्