वैकल्पिक विधिबाट पठनपाठनका लागि बेलबारीले जोड्यो ५० स्थानमा फ्रि वाईफाई


बेलबारी, श्रावण। कोरोना भाइरसका कारण विद्यार्थीहरूको पठन पाठनमा असर पुगेपछि मोरङको बेलबारी नगरपालिकाले पठन पाठनलाई सहज बनाउन ५० स्थानमा फ्रि वाईफाई जडान गरेको छ ।

वैकल्पिक विधिबाट पठनपाठन गर्न लागि सहजहोस् भन्ने उद्देश्यका साथ एउटा वडामा ४ ठाउँमा जडान गरिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । फ्रि वाईफाई जडान भएपछि इन्टरनेट पहुँच भन्दा बाहिर रहेको विद्यार्थीहरुलाई पठन पाठनमा सहज हुने नगरपालिकाले विश्वास लिएको छ । 

नगरपालिकाका ५ वटा विद्यालयलाई भर्चुअल कक्षाको हब बनाएर पठन पाठन गरिने नगरपालिका शिक्षा शाखाका प्रमुख भूपेन्द्र कोइराला बताउँछन् । ५ वटा विद्यालयमा सबै विद्यालयका शिक्षक शिक्षिका भेला भएर अनलाइनको माध्यमबाट सिकाइ सुरु गर्ने कार्यक्रम रहेको कोइरालाको भनाई रहेको छ । अनलाइनको पहुँच नपुगेका विद्यार्थीहरूका लागि सियुजि सिम उपलब्ध गराइएको नगर प्रमुख सुवेदीले बताए ।

सुवेदीका अनुसार उक्त सिम कार्ड मार्फत एक जना शिक्षकले ६ जना विद्यार्थीलाई एकै पटक पढाउन मिल्ने छ । उक्त सिमको प्रयोगबाट सामान्य खालका मोबाइलबाट समेत पठन पाठन गर्न मिल्ने नगरपालिकाको कार्यालयले जनाएको छ । 

अनलाइन पहुँचका अभावमा धेरै बालबालिकाहरू सिकाइबाट वञ्चित भइरहेको अवस्थामा बेलबारीले सुरु गरेको यो कामलाई स्थानीयले सकारात्मक रूपमा लिएका छन् । 

प्रतिक्रिया दिनुहोस्