छानबिन समितिको गोप्य सूचना सार्वजनिक : मेयरलाई रु.४० लाख भ्रष्टाचारको आरोप(बेलबारी बोयर बाख्रा प्रकरण)


बेलबारी, ७ श्रावण । बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बोयर बोका/बाख्रा प्रकरणमा ४० लाख रुपैयाँ मागेको ठेकेदारले आरोप लगाएका छन् । बोयर बोका/बाख्रा छानबिन समितिलाई प्रतिउत्तर पत्रद्वारा विजय तामाङले सो आरोप लगाएका हुन ।

बोयर बाख्राका विषयको छानबिन गरी सत्य तथ्य बाहिर ल्याउन गठित छानबिन समितिले माग गरेको प्रतिउत्तर पत्र सार्वजनिक भएसँगै मेयर सुवेदीलाई रु.४० लाखको आरोप पुन चर्चामा आएको छ । ठेकेदारले मेयरलाई पैसा मागेको आरोप बोयर बोका/बाख्रा प्रकरणको सुरुवात भएसँगै लगाउँदै आएका छन् ।  

प्रतिउत्तर पत्र सार्वजनिक भएर , मेयरलाई रु.४० लाख मागेको आरोपको चर्चा चुलिइसक्दा पनि छानबिन समिति भने गोप्य रहनु पर्ने पत्र सार्वजनिक भएको अनविज्ञता प्रकट गरेको छ । सत्य तथ्य छानविनकै लागि गठित छानबिन समितिले माग गरेका सूचनाहरू समितिमा आउनुभन्दा अगावै सार्वजनिक हुनु समितिलाई चुनौति सिर्जना भएको छ भने त्यसको विस्वसनियताप्रति पनि प्रश्न उठेको छ ।

मिति २०७८ असार १२ गते छानबिन समितिले बेलबारी बोयर बाख्रा प्रकरणका विषयमा आफूसँग भएका गोप्य सूचना उपलब्ध गराउन सार्वजनिक सूचना जारी गर्‍यो । सर्वसाधारणले आफूसँग भएका सूचना उपलब्ध गराए र गराउने क्रममा छन् । तर धेरैजसो महत्त्वपूर्ण सूचनाहरू भने समितिमा आउनु पूर्व नै बाहिरिने गरेको पाइन्छ । साथै केही सूचना भने समितिमार्फत पनि बाहिरिएको अनुमान गरिएको छ । गोप्य रूपमा मागिएका र दिनु पर्ने सूचनाहरू यसरी सार्वजनिक हुनु कानुनतः गलत हो । जसले गर्दा समितिको विश्वसनीयता माथि प्रश्न चिन्ह खडा त हुन्छ नै साथसाथै यसले सूचनाको गोपनीयता भङ्ग हुने र जसका कारणबाट दुर्घटनासमेत निम्तिने डर हुन्छ ।

यही क्रममा समितिले गत असार ३० गते नगरपालिकालाई बोयर बाख्रा उपलब्ध गराउने ठेकेदार समूहका चार जना श्याम पाण्डे, सुदिपकुमार चौधरी, विजय तामाङ र गोविन्दकुमार रायलाई पत्र पठाएर समितिमै उपस्थित हुन अनुरोध गर्याे तर उक्त समूहले समितिको आग्रहलाई नकार्दै उपस्थित हुन नसक्ने जानकारी गरायो । तर भौतिक रूपमा उपस्थित नभए पनि ४ जना मध्ये २ जनाले भने समितिलाई लिखित जवाफ पठाए ।

लिखित जवाफ त पठाए तर त्यो जवाफ समितिले पाउनुभन्दा अगावै पत्रिकामार्फत सार्वजनिक भइसकेको थियो । छानबिन समितिलाई प्राप्त भएका गोप्य सूचनाहरू कसरी सार्वजनिक भए त भन्ने सवालमा समितिका संयोजक नगर कार्यपालिका सदस्य विन्दुकला गुरुङ यसबारेमा आफै अचम्ममा परेको बताउँछिन् । यस्ता क्रियाले समितिको काम कारबाहीलाई नै प्रवाहित गर्न खोजे पनि आफूहरू विचलित नभई सत्य तथ्य बाहिर ल्याउन लागिरहेको बताउँछिन् । बेलबारी बोयर बाख्रा प्रकरणका विषयका अधिकांश सूचनाहरू ठेकेदारले सोझै मिडियामा दिने गरेको उनको दाबी रहेको छ । 

बेलबारी बोयर काण्डका यतिखेर घेरै चर्चामा रहेको छ । साथै बोयर प्रकरणमा यसअघि नै नगरप्रमुख, उपप्रमख र प्रमुख प्रशासकीय अधिकृतले रकम मागे भन्ने विषयले पनि त्यतिकै चर्चा पाएको थियो । तर सम्बन्धित कम्पनी ग्रो अर्ग्यानिक कृषि प्रा.लि.ले नगरप्रमुख, उपप्रमख र प्रमुश प्रशासकीय अधिकृतले यस कार्यका लागि रकमको माग गरेको भन्ने कुरा निराधार रहेको भनेर खण्डन गरिसकेको छ ।

यतिखेर बाख्रा ल्याउन अनुमति पाएको ठेकेदार कम्पनी ग्रो अर्ग्यानिक कृषि प्रा.लि.का प्रतिनिधि भनेर सबैभन्दा अघि चर्चामा आएका श्याम पाण्डेले अहिले आफू सो कम्पनीमा संलग्न नरहेको दाबी गर्दै आएका छन् । साथै उनले यतिखेर आफ्नो बोली फेरेर बोयर खरिद प्रक्रियामा आफ्नो संलग्नता नभए प्रमाणित गर्न नगरपालिकालाई चुनौती समेत दिँदै आएका छन् ।

तर बोयर प्रक्रकणसँग जोडिएका अर्का व्यक्ति विजय तामाङले भने गत ज्येष्ठ १५ गते किसानलाई बोयर बोका पाठी वितरण गर्दा पाण्डेसहित आफू पनि उपस्थित रहेको स्वीकार गरेर पाण्डेको, यो प्रकरणमा संलग्नता पुष्टि गरिदिएका छन् ।  

तामाङले छानबिन समितिलाई लेखेको पत्रमा बोयर खरिद विषयमा नगरप्रमुखले ४० लाख रुपैयाँ अग्रिम माग गरेको र सो नदिएकै कारण आफूहरूको भुक्तानी रोकिएको समेत दाबी गरेका छन् । नगरपालिकाले गठन गरेको छानबिन समितिलाई लिखित जवाफ पठाउने क्रममा सो आरोप लाएका छन् । उनले पठाएको यो जवाफको वोधार्थ अख्तियारको क्षेत्रीय कार्यालय इटहरीलाई पनि दिइएको छ ।

कार्यालयको कामले काठमाडौँमा रहेका नगरप्रमुख सुवेदीले भने आफू बिहानै देखि मिटिङमा भएकोले  सबै कुरा पढ्न नपाएको बताउँदै आफूमाथि लागेको आरोपमा कुनै सत्यता नभएको बताएका छन् ।

बेलबारीसँग जोडिएको यो बोयर बाख्रा प्रकरणको विषय जति लम्बिन्छ त्यति नै यसले नगरको गरिमालाई तल गिराउने काम गर्छ । तसर्थ जतिसक्दो चाँडो सत्य तथ्य बाहिर आउनुपर्छ भन्ने नगरवासीको माग रहेको छ । 

प्रतिक्रिया दिनुहोस्