कोरोना सङ्क्रमणको तेस्रो लहर फैलनसक्ने भन्दै सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह


काठमाडौँ, ८ श्रावण । नेपालमा कोरोना सङ्क्रमणको तेस्रो लहर फैलनसक्ने भन्दै सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह गरेको छ । पछिल्लो समय कोरोना रोकथाम तथा नियन्त्रणका लागि मापदण्ड कार्यान्वयनमा हेलचेक्र्याइँ भइरहेको बेलामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रमणको जोखिम बढिरहेकाले त्यसतर्फ सचेत रहन सबैलाई आग्रह गरेको हो ।

स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले सङ्क्रमणको बढ्दो अवस्थाले कोरोनाको तेस्रो लहर आउन सक्ने भन्दै अस्पतालका शैंया र अक्सिजन चुस्त दुरुस्त राख्न आग्रह गरेका छन् । पछिल्लो केही दिनदेखि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको पाइन्छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार यतिखेर देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २७ हजार ३ सय ७५ पुगेको छ । काठमाडौँ ललितपुर, भक्तपुरसहति मोरङ, सुनसरी, झापा लगायतका १० वटा जिल्लामा  कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५ सयभन्दा बढी पुगेको छ । त्यसो पछिल्लो समय स्वास्थ्य मापदण्डको पालनामा सबैको चासो कम हुन थालेको पाइन्छ । जताततै भिडभाड बढ्न थालेको देखिन्छ । भौतिक दुरी कायम गर्ने कामसमेत कहिकतैबाट भएको पाइदैन ।

निषेधाज्ञा खुकुलो पारेसँगै खुलेका यातायातका साधनले पनि भिडिबढाउने र सङ्क्रमणलाई एक ठाउँबाट अको ठाउँमा पुर्‍याउने काम गरिरहेका छन् । जसले गर्दा कोरोना सङ्क्रमण बढ्ने सम्भावना देखिएको छ । त्यसतर्फ सबैको चासो जानु आवश्यक छ । 

प्रतिक्रिया दिनुहोस्