सरकारी कार्यालयले नै गर्दैनन् स्वास्थ्य मापदण्डको पालना


कोरोना खोप लगाएको प्रमाणपत्र लिनेको भिड

काठमाडौँ, ९ श्रावण । कोरोना सङ्क्रमण कम गर्न निर्माण गरिएको स्वास्थ्य मापदण्ड सरकारी कार्यालयले नै तोड्ने गरेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना भाइरसविरुद्धको खोप लगाएको प्रमाणपत्र लिन आउनेहरूको भिडले त्यही कुराको प्रमाण दिएको छ । 

विदेश जाने युवाहरूलाई सम्बन्धित देशले कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र लिने भएपछि युवाहरू खोप लगाएको प्रमाणपत्र लिनका लागि टेकुमा युवाहरूको भिड लागेको थियो । सरकारले निषेधाज्ञा हटाए पनि हाट बजार खोल्न अनुमति दिएको छैन । सरकारीस्तरबाटै सञ्चालित कार्यालयले नै यस्तो लापरबाही गरिरहँदा अरूतिरको कस्तो अवस्था होला भने सजिलै अनुमान लगाउन सकिन्छ । 

सयौँको सङ्ख्यामा मानिसहरूको भिड बढेपछि टेकु अस्पताल  अस्तव्यस्त मात्र देखिएको छैन यसले कोरोना सङ्क्रमणको जोखिमलाई पनि बढाइदिएको छ । देशका विभिन्न जिल्लाबाट विदेश जानका लागि राजधानी आएका युवाहरू तीन दिनअघिदेखि लाइन बस्दा पनि आजसम्म प्रमाणपत्र लिने पालो नआएको र यसरी भिडमा जानु पर्ने भएकोले कोरोनाको सङ्क्रमण बढ्ने त्यतिकै डर रहेको उनीहरू बताउँछन् । 

सरकारले चुस्त, दुरुस्त सेवा दिनु पर्ने तर त्यो गर्न नसकेको उनीहरूको आरोप रहेको छ । यी सबै कुरा अनलाइनबाट लिने व्यवस्था गर्नु पर्ने नभए पनि पालो सिस्टममा मानिस बोलाउन सकेको खण्डमा पनि भिडभाड कम हुने तर सरकारलाई कोरोना जोखिमभन्दा करसँग महत्त्व भएको उनीहरूको आरोप रहेको छ । अरूलाई चाहिँ स्वास्थ्य मापदण्डको पालना गर्न भन्ने तर सरकार आफूले चाहिँ त्यो मापदण्ड पालनका गर्नु नपर्ने भन्ने प्रश्न उब्जिने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्