बेलबारीका सरकारी जग्गा अतिक्रमणको मारमा : निर्माणाधीन कम्प्लेक्सको जग्गा अपुग


बेलबारी, २६ श्रावण । बेलबारीमा निर्माण भइरहेको अन्तराष्ट्रियस्तरको कम्प्लेक्सलाई व्यवस्थित रूपमा निर्माण गर्न स्थानीयहरूले नगरपालिकालाई ध्यानाकर्षण गराएका छन् । स्थानीयहरूको टोलीले शनिवार नगरप्रमुख ज्ञानेन्द्र सुवेदीलाई उनको कार्यकक्षमै भेटेर उक्त कुराको ध्यानाकर्षण गराएका हुन् । 

ध्यानाकर्षण गराउन कम्प्लेक्स निमार्णस्थलका वरिपरि बस्ने स्थानीयहरू सामूहिक रूपमा नगरपालिकाको कार्यालय पुगेका थिए । उनीहरूले नगरप्रवक्त योगेन्द्र सुवेदी, प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाह, १ नं वडाका अध्यक्ष चक्रबहादुर खुलाललाई संयुक्त रूपमा भेटेर कम्प्लेक्स निर्माण गर्दा स्थानीयको आवश्यक्ता र भावनालाई हेरेर काम गर्न अनुरोध गरेका थिए । 

बेलबारी नगरपालिका वडा नं १ मा करिब १२ करोडको लगानीमा अण्डरग्राउण्डसहित पाँच तले सुविधा सम्पन्न सपिङ कम्प्लेक्स निर्माण भइरहेको छ । १७ करोण ३९ लाख ५६ हजार ६ सय ६६ मा टेण्डर आह्वान हुँदा ‘रविना, अविशा अवियान जेबी काठमाडौँले भ्याट सहित ११ करोड ९९ लाख ८५ हजार ७ सय १४ मा निर्माण कार्यको अनुमति पाएको  र १८ महिनामा निर्माण सम्पन्न गरेर नगरपालिकालाई जिम्मा लाउने गरी काम भइरहेको बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहले जानकारी दिएका छन् ।

नगरविकास कोषको ७० प्रतिशत ऋण लगानी र बेलबारी नगरपालिकाको ३० प्रतिशत आर्थिक लगानीमा निमार्ण हुने उक्त सुविधा सम्पन्न कप्प्लेक्सको ‘बेलबारी सपिङ कम्प्लेक्स तथा स्थानीय उत्पादन केन्द्र’ नाम दिएको छ । कम्प्लेक्सको अण्डरग्राउण्डमा कार तथा मोटर बाइक पार्किङ रहने छ भने चार वटा तल्ला व्यावसायिक प्रयोजनमा प्रयोग हुनेछन् ।

डिपिआर निर्माण भएर कामसमेत सुरु भइसकेको उक्त व्यापारिक प्रतिष्ठान सातकठ्ठा १५ धुरको कित्ताभित्रको बजारको जग्गामा निर्माण हुनलागेको हो ।  हाल सपिङ कम्प्लेक्सको भवन निर्माण भइरहेको स्थानमा यसअघि साप्ताहिक हटिया लाग्दै आएको थियो । प्रत्येक सोमवार लाग्ने हटियालाई नगरपालिकाले बसपार्कको प्रस्तावित स्थानमा स्थानान्तरण गरेर उक्त स्थानमा व्यापारिक प्रतिष्ठान बनाउन लागिएको हो ।

कम्प्लेक्स बनिरहेको जमिनको पूर्वपट्टि स्थानीयका व्यक्तिगत भवन छन् भने उत्तर र पश्चिमपट्टि भने बाटो रहेको छ । स्थानीयहरूले पूर्वपट्टि पनि बाटो छाडिनु पर्ने, बन्ने कम्प्लेक्सको चारैतिर सटर राखिनु पर्ने, वरिपरि ढलको व्यवस्था गर्नुपर्ने, बिजुली पोल थपिदिनु पर्ने आदि माग राखेका छन् । कम्प्लेक्स बन्न लागेको जमिनको बिचबाट यसअघि पोल टाँगेर बिजुली बाल्ने काम भइरहेको थियो । उक्त स्थानमा व्यापारिक भवन बन्ने भए पछि ती पोलको व्यवस्थापन गरिनु पर्ने स्थानीयको मागलाई नगरपालिकाले सकारात्मक रूपमा लिँदै बिजुलीको पोलको व्यवस्थापनको पक्रिया सुरु भइसकेको बताएको छ । बेलबारी नगरपालिका वडा १ का अध्यक्ष चक्र खुलाल बिजुली पोलका लागि नेपाल विद्युत् प्राधिकरणको कार्यालय बेलबारीमा पत्र लेखेर यस अघि नै पठाइसकेको बताउँछन् ।

उता नगरपालिका पनि स्थानीयले उठाएका सबै मागप्रति सकारात्मक रहेको बताउँदै उक्त सुविधा सम्पन्न कम्प्लेक्समा बाहिरबाट सटर राख्ने व्यवस्था नभएको र कम्प्लेक्सकै बन्ने ढलसँगै जोडेर उक्त स्थानको ढललाई पनि व्यवस्थित गर्न सकिने ध्यानाकर्षण गराउन गएका स्थानीयलाई नगरप्रमुख सुवेदीले आश्वासन दिएका छन् । नगरप्रमुखको आश्वासन पाए पछि स्थानीयहरू ढुक्क भए फर्किएका छन् । केहीले भने यसलाई लिखित सम्झौता गरिने पर्ने मागमा भने नगरपालिकाले विमति जनाएको छ ।                                                   

५३ सालदेखि उक्त स्थानमा बसोबास गर्दै आएका रामबहादुर राई आफ्नै घर अगाडि अनतराष्ट्रियस्तरको सुविधा सम्पन्न व्यापारिक प्रतिष्ठान बन्नु आफूहरूको पनि गौरवको कुरो रहेको भए पनि स्थानीयलाई अप्ठ्यारो पार्नेगरि भने काम गर्न नहुने बताउँछन् । उनी अरू माग पूरा भए पनि आफूहरूको वरिपरि सटर हुनुपर्ने माग चाहिँ पूरा नभएको बताउँछन् ।

२० फुट बाटो छाडेर अनि मात्र कम्प्लेक्स भवनको संरचना बनाउनु पर्ने स्थानीयले माग गरेका थिए । तर साँघुरो क्षेत्रफलका कारण बाटोको लागि मात्र २० फुट छाडेको छैन । तर बाटोको मात्रै २० फुट नै नछाडे पनि बाटोको र भवनको सेटब्याकको पाँच फुट गरेर २० भने पुग्ने देखिन्छ । यसो गर्दा नगरपालिकाले पूर्वपट्टिको सेटब्याकको क्षेत्रमा वाल नलाउने भएको छ । यसो गर्दा चाहिँ स्थानीयको माग अनुसार नै २० फुट नै उपयोग गर्न मिल्ने देखिएको छ ।

निर्माणधीन भवनको उत्तर पट्टि भने बजारकै भए पनि यस अघि नै २४ फुट बाटो प्रयोगमा आएको छ । यो बाटोलाई नगरपालिकाले जस्ताकात्यस्तै छाडेर बाँकी जमिनमा मात्र भवन बनाउने भएको छ । उत्तरपट्टिका बासिन्दाहरू पनि आफ्नोतिरको भवनको सेटब्याक क्षेत्रमा पनि वाल लाइनु नहुने, खुल्लै छाडिनु पर्ने बताउन थालेका छन् । स्थानीय उद्धव सुवेदी पूर्वतर्फजस्तै उत्तरतर्फ पनि पूर्वतर्फको जस्तै खुल्लै छाड्नु पर्ने बताउँछन् ।

पश्चिमपट्टि रहेको बाटोमा यसअघि नै पिच गर्ने काम भएको छ । अब बाटो बिस्तार गर्दा स्थानीयको जग्गातिर पेल्न नपाइने, नक्साको बाटो क्लियर गरेर काम गर्नु पर्ने स्थानीय बासु राई बताउँछन् । तर नगरपालिका भने कम्प्लेक्सको काम सुरु गर्ने अनि बाँकी कामहरू गर्दै जाने पक्षमा देखिएको छ ।

घर अघि सुविधा सम्पन्न व्यापारिक भवन बन्न लाग्दा हौसिएका स्थानीयहरू बजारको जग्गा व्यक्तिले प्रयोग गरिरहेकोमा भने चिन्तित रहेका छन् ।उक्त क्षेत्रमा बजारको नामको लगभग १४ कठ्ठा जमिन भएको बताइए पनि अहिले ७ कठ्ठा १५ धुर मात्र भवनको निर्माण प्रयोजनमा रहेको देखिन्छ । त्यसमा  पनि अहिले कम्प्लेक्स बन्न लागेको सात कठ्ठा १८ धुर जग्गामध्ये पनि सात कठ्ठा १० धुरजति मात्र प्रयोगमा आउने देखिएको छ । अहिले कम्प्लेक्स बन्दै गरेको २३९ नं कित्तासँगै जोडिएको १११ कित्ता नं र त्यसको उत्तरमा रहेको कित्ता नं १६७ को २ कठ्ठा चार धुर जग्गामध्ये कित्ता नं १११ नं १ कठ्ठा अढाई धुर जग्गामा उत्तरतर्फको बाटो रहेको बताइए पनि कित्ता नं १६७ नं सवा कठ्ठा जग्गा भने नक्सामा मात्रै सीमित देखिएको छ । त्यो जग्गा कसले प्रयोग गरिरहेको छ त्यो, कस्का नाममा छ त्यो अज्ञात रहेको छ । त्यस्तै बेलबारी नगरपालिकाकै नाममा रहेका ‘कसेनी १ ग’का कित्ता नं ३१४, ३१७ र ३२२ का ४ कठ्ठा पाँचधुर जग्गा पनि गायब देखिएका छन् । 

बजारभित्रको यति धेरै सरकारी जग्गा गायब हुँदासमेत सरोकारवाला भने बेखवर छन् । यद्यपि बजारको नाममा कायम रहेका यी जग्गा हालको जनप्रतिनिधि आउनुभन्दा अघि देखि नै व्यक्तिले प्रयोग हडपेको देखिन्छ । तर अहिलेका जनप्रतिनिधिलाई हिजो अर्कैको पालामा भएको हो, हामी त्यसबेला जनप्रतिनिधि थिएनौँ भन्ने पाउने छुट नहुने, स्थानीय सरकारका हैसियतले ती सबै सम्पत्तिको खोजी र संरक्षण गर्ने जिम्मेवारी पनि नगरपालिकाकै भएको स्थानीयको आवाज रहेको छ । 

बिचबजारको यति धेरै सरकारी जग्गा व्यक्तिले हडप्दासमेत स्थानीय पार्टी तथा सामाजिक अभियान्ताहरुसमेत बेखवर देखिँदा भने स्थानीय झनै अचम्मित बनेका छन् ।

सरकारी जग्गा कुनै व्यक्तिले प्रयोग गरिरहेको भए त्यसको खोजी गरेर नगरपालिकाले आफ्नो नाममा ल्याउनुपर्ने बजार व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका स्थानीय भुवन बन बताउँछन् । उनी आफूहरूले विगत लामो समयदेखि यो आवाज उठाइरहेको भए पनि त्यसको सुनुवाइ नभएको गुनासो गर्छन् । ‘हामीले पटक पटक यसबारेमा आवाज उठाउँदै आएका छौँ । बजारको जग्गा यकिन हुनुपर्‍यो भनिरहेका छौँ तर यसको कुनै सुनुवाइ भएको छैन ।’ 

स्थानीय जगत बास्तोला आफूहरूले यसबारेमा राजनैतिक रूपमा पनि आवाज उठाएको, आफूहरूले तत्कालीन गाविस अध्यक्ष शिव बराल लाईसमेत यसबारेमा लेखेर दिएको तर केही पनि सुनुवाइ नभएको उनी बताउँछन् । स्थानीय शिक्षकसमेत रहेका बास्तोला नगरभरि रहेका यस्ता जग्गाको खोजी गर्नु पर्ने बिचार राख्छन् । 

प्रतिक्रिया दिनुहोस्