सुन लुटेरा पक्राउ गर्ने प्रहरीहरू सुन्दरहरैंचा नगरपालिकाद्वारा सम्मानित (फोटो फिचर)


बेलबारी, २६ श्रावण । सुन्दरहरैंचा नगरपालिकाको एक सुन पसलमा सुन लुट्ने प्रयासमा संलग्न अत्याधुनिक स्वचालित हतियारसहित लुटेरा पक्राउ गर्ने प्रहरीहरूलाई सम्मान गरिएको छ । सुन्दरहरैचा नगरपालिकाले सोमबार प्रहरीहरूलाई सम्मान गरेको हो ।

प्रदेश नं. १ प्रहरी प्रमुख नायव महानिरीक्षक अरुण कुमार वि.सी, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जी.सी, प्रहरी नायव उपरीक्षक मञ्जील मुकारुङ, प्रहरी निरीक्षक सरोज खनाल, प्रहरी नायव निरीक्षक दुर्गाबहादुर पोमो र प्रहरी जवान हेमराज तामाङ सम्मानित भएका छन् । नगरपालिकाले नगद रु.५ हजारसहित सम्मानपत्रद्वारा सुशोभित गरेको हो । 

सुन्दरहरैचा वडा नं. १० स्थित त्रिवेणीचौकको शिव पाञ्चायन ज्वेलर्समा असार ३१ गते अज्ञात एक समूहले लुट्ने प्रयास गरेका थिए । उक्त प्रकरणमा संलग्न ७ जनालाई हतियार र सवारी साधनसहित प्रहरीले पक्राउ गर्न सफल भएको छ । 

उक्त प्रकरणमा एसएमजीसम्मको हतियार प्रयोग भएकोले त्रासपूर्ण वातावरण सृजना भएको थियो । तर घटना घटेको १२ दिन भित्रै प्रहरीले लुटेराहरूलाई पक्राउ गरे पछि प्रहरीको कार्य सम्पादनमा नागरिकको विश्वास थप बढेको छ भने स्थानीयलाई सुरक्षाको प्रत्याभूति गराएका छन् ।

सम्मान कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिव प्रसाद ढकालले प्रहरीको खुलेर प्रशंसा गर्दै स्वागत तथा सम्मान गरेका थिए । सुन लुट्ने प्रयासमा संलग्न सबै अपराधीहरूलाई पक्राउ गरेर, प्रहरीले आतंकबाट मुक्त गराएको प्रमुख ढकालले बताए । 

प्रमुख ढकालले भने, “अत्याधुनिक स्वचालित हतियारको प्रयोगमा लुट्ने प्रयासले १५ वर्ष पछाडि धकलेको अनुभूति गराएको थियो । आतंकबाट मुक्त गराउनु अहोरात्र जिउज्यानको पनि प्रभाव नगरी खटेर, हतियार सहित सबै लुटेराहरूलाई पक्राउ गर्न सफल भएकोमा सुन्दरहरैचा नगरवासी तथा नगरपालिकाको तर्फबाट प्रहरीको कार्य सम्पादनको उच्च मूल्याङ्कन गर्दै, सम्मान गर्दछौँ ।”

अन्यायमा परेकालाई, अबको व्यावसायिक प्रहरीद्वारा न्याय पाउने वातावरण र विश्वसनीयता बढेर जानेमा विश्वस्त रहेको प्रमुख ढकाल बताउँछन् । प्रमुख ढकालले प्रहरीलाई नगरपालिकाले जस्तोसुकै आवश्यक सहयोग गर्ने तर नगरवासीको सुरक्षामा कुनै कमजोरी नगर्न आग्रह गरेका छन् । नगरपालिकाको तर्फबाट हाइवे सुरक्षाको निम्ति अत्याधुनिक २४ वटा सिस क्यामरा जडान गर्ने समेत प्रमुख ढकालले जानकारी दिएका छन् । 

कार्यक्रमलाई धन्यवाद प्रदान गर्दै प्रदेश नं. १ प्रहरी प्रमुख नायव महानिरीक्षक अरुण कुमार वि.सिले सुन्दरहरैंचा नगरपालिकाको सम्मानले नागरिकको थप विश्वाससँगै जिम्मेवारी प्रदान गरेको बताए । नागरिकहरूको साथ र सहयोग बिना आपराधिक गतिविधिको नियन्त्रण तथा सफल अनुसन्धान सम्भव नहुने नायव महानिरीक्षक वि.सि बताउँछन् । नागरिकहरूले घटना घटन नदिन वा घटेको घटनाबारे जानकारी प्रदान गरी सहयोग गर्न नायव महानिरीक्षक वि.सिले आग्रह गरेका छन् ।

कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका प्रमुख शिवप्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङ, प्रमुख प्रशासकीय अधिकृत डा. कृष्णबहादुर घिमिरे, नगरकार्यपालिका सदस्य लगायतले प्रहरीलाई सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्