बेलबारीमा सार्वजनिक जग्गा अतिक्रमणविरुद्धको खबरदारी : संरक्षण गर्न स्थानीयको माग


बेलबारी, २७ श्रावण । आफ्नै नगरमा अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न व्यापारिक भवन बन्न लाग्दा हौसिएका बेलबारीका स्थानीयहरू बजारका नाममा रहेका सरकारी जग्गा नै गायब भएको थाहा पाए पछि त्यसै चिन्तित भएका छन् । यो चिन्ताले उनीहरूलाई आन्दोलित बनाएको छ । 

बेलबारी नगरपालिका वडा नं १ मा अण्डरग्राउण्डसहित पाँचतले सुविधा सम्पन्न सपिङ कम्प्लेक्स निर्माण प्रयोजनको तयारीका लागि बेलबारी नगरपालिका वडा नं १ ले २०७६ साल असार १ गते पठाएको पत्रको उत्तर दिँदै मालपोत कार्यालय बेलबारीले सो क्षेत्रमा नगरपालिकाका नाममा विभिन्न ६ वटा कित्ताहरू गरेर १४ कठ्ठा बराबरको जग्गा भएको विवरण उपलब्ध गराए पछि स्थानीयहरू भने अहिले यो विवरण अनुसारका जग्गा कहाँ छन् भनेर खोजिरहेका छन् । 

यस अघि सोमवारे हटिया लाग्ने स्थानमा करिब १२ करोडको लगानीमा ‘बेलबारी सपिङ कम्प्लेक्स तथा स्थानीय उत्पादन केन्द्र’ को निर्माण भइरहेको छ । ‘रविना, अविशा अवियान जेबी काठमाडौँले भ्याट सहित ११ करोड ९९ लाख ८५ हजार ७ सय १४ मा भवन निर्माणको जिम्मा पाएको छ ।

१८ महिनामा निर्माण सम्पन्न गरेर नगरपालिकालाई जिम्मा लाउने गरी काम भइरहेको उक्त कम्प्लेक्सको अण्डरग्राउण्डमा कार तथा मोटरबाइक पार्किङ रहने छ भने चार वटा तल्ला व्यावसायिक प्रयोजनमा प्रयोग हुनेछन् । नगर विकास कोषको ७० प्रतिशत ऋण लगानी र बेलबारी नगरपालिकाको ३० प्रतिशत आर्थिक लगानीमा निमार्ण हुने उक्त सुविधा सम्पन्न कम्प्लेक्सले बेलबारीको गरिमालाई माथि उठाउने आसा गरिएको बेलबारी नगरपालिका वडा नं १ का अध्यक्ष चक्र खुलाल बताउँछन् ।  

बेलबारीमा अन्तर्राष्ट्रियस्तरको यो व्यापारिक प्रतिष्ठान बन्ने खबरले स्थानीयमा जति उत्साह थपिएको थियो तर बजारको नाममा रहेका जग्गा फेला नपरेपछि भने उनीहरू त्यति नै चिन्तित बन्न पुगेका छन् । उक्त क्षेत्रमा सोमबारे हटिया प्रयोजनमा करिब १० कठ्ठा (कित्ता नं २३९, १११ र १६७ गरेर) जमिन भएको बताइए पनि अहिले ७ कठ्ठा १५ धुर मात्र भवनको निर्माण प्रयोजनमा रहेको देखिन्छ । बाँकी जग्गा कहाँ छन् भन्ने बारेमा यकिन हुन सकेको छैन । तर स्थानीयहरू भने ती जग्गाको यकिन गरेर बजारकै प्रयोजनमा आउनु पर्ने बताइरहेका छन् ।  

हाल कम्प्लेक्सका लागि कित्ता नं २३९ जग्गा मात्र प्रयोगमा आएको छ भने बाँकी जमिनको तथ्याङ्क न नगरपालिकासँग छ न मालपोत कार्यालयसँग नै ।

बेलबारी नगरपालिकाले नगरका नाममा रहेका सार्वजनिक सम्पत्तिको यकिन गरेर उपलब्ध गराउन गरिएको पत्र पनि मालपोत कार्यालय बेलबारीमा त्यतिकै थन्किएको बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाह बताउँछन् । 

प्रमुख प्रशासकीय अधिकृत शाह भन्छन् ‘हामीले नगरभित्र भएका सार्वजनिक जग्गाको तथ्याङ्क यसअगिकै मालपोत प्रमुख भएको बेलामा माग गरेका थियौँ तर प्राप्त हुन सकेन ।’ 

प्रमुख प्रशासकीय अधिकृत शाहको भनाइबाट मालपोत कार्यालयले विवरण दिन अलमल गरेको देखिन्छ । मालपोत कार्यालयले विवरण दिन ढिलो गर्दा नगरभित्र भएका सार्वजनिक जग्गा संरक्षणमा कठिनाइ हुने र यसकै आडमा भूमाफियाहरुलाई चलखेल गर्न सहयोग पुग्ने सक्ने भन्दै स्थानीयले मालपोत कार्यालयलाई विवरण चाँडो उपलब्ध गराउन माग गरेका छन् । केहीले भने सार्वजनिक जग्गाको अतिक्रमण तथा व्यक्तिको नाममा दर्ता गर्न मालपोत कार्यालयकै कर्मचारीको मिलेमतो हुने गरेकोले यो विवरण उपलब्ध नगराइएको हो भन्ने आरोपसमेत लगाएका छन् । 

 १११ र १६७ नं कित्ता लगायत अरू कित्ता कहाँ छन् ?

 ‘कसेनी १ ग’को कित्ता नं २३९ को ७ कठ्ठा १८ धुरभित्रको क्षेत्रफलमा कम्प्लेक्स निर्माण भइरहेको छ । यो कित्तासँगै उत्तरतर्फ जोडिएका १११ र १६७ दुई वटा कित्ताहरू रहेका देखिन्छन् । यी दुईवटा कित्तामा १११ मा १ कठ्ठा अढाइ धुर र १६७ मा सवा कठ्ठाभन्दा बढी जग्गा भएको देखिन्छ । कित्ता न. २३९ सँगै जोडिएको १११ कित्ता बाटोमा प्रयोग भएको बताइएको छ । यो कित्ता बाटोमा प्रयोग भएको भए अर्को १६७ नं को कित्ता चाहिँ कहाँ छ, त्यो जग्गा कसले प्रयोग गरिरहेका छन् भन्ने प्रश्न उब्जिएको छ ।

केहीले भने १११ र १६७ पनि २३९ नं कित्तामै मिसिएको हुनुपर्छ भन्ने तर्क पेस गर्दै आएका छन् । यदि ती दुईवटा कित्ता पनि २३९ मै मिसिएको भए त्यहाँ तीनवटा कित्ता गरेर १० कठ्ठाको हाराहारीमा जग्गा हुनु पर्ने देखिन्छ । तर अवस्था भने त्यस्तो देखिँदैन । त्यही कित्ताको पनि ७ कठ्ठा १८ धुरमध्येमा ७ कठ्ठा १५ धुरमात्र कायम भएको बताइएको छ ।

त्यस्तै कित्ता नं २३९ को जग्गा नाप्दा बाटोको रूपमा प्रयोग हुँदै आएको कित्ताको जग्गासहित जोड्दा मात्र ७ कठ्ठा १५ धुर पुगेको हो भन्ने कुरा पनि नापजााचमा खटिएका प्राविधिकले बताएका छन् । तर त्यो कुरा पुष्टि हुन भने बाँकी रहेको, नक्सा प्राप्त भए पछि मात्र यकिन रूपमा भन्न मिल्ने ती प्राविधिकले बताएका छन् । ‘हामीले २३९ को जग्गा मात्र नापेर हेरेका छौँ । नक्सा प्राप्त हुनेसाथ बाँकी कित्ता पनि कहाँ छन् भनेर यकिन हुने काम हुन्छ ।’ प्राविधिक टिममा रहेका एक जना सदस्यले कोशी नेपाल मिडियासँग भने ।  

३१४, ३१७ र ३२२ कित्ताको बारेमा के भएको थियो ? 

पूर्व पश्चिम लोकमार्गसँगै जोडिएको बजारबाट फिलिम हल हुँदै नक्सल जाने बाटोमा कित्ता नं ३१४, ३१७ र र सुवेदी भााडापसलतिर जाने बाटोमा कित्ता नं ३२२ प्रयोग भएको बताइएको छ । यी कित्तामध्ये ३१४ र ३२२ मा गङ्गाबहादुर कार्की र ३१७ मा रामजी धिमालको नाममा मोही लेखिएको देखिन्छ । तर यी कित्ताका जग्गालाई गाउँ विकास समितिले नै बाटोमा प्रयोग गर्न अनुमति दिइएको तत्कालीन सो क्षेत्रका वडा अध्यक्षसमेत रहेका स्थानीय रमेश कुमार तामाङले बताएका छन् । निर्णय नै गरेर ती कित्ताका जग्गा बाटोमा प्रयोग गरिएको तामाङले बताइए पनि हाल प्रयोगमा आएको रत्नकुमार वान्तवामार्ग र ती कित्ता नं मा भएका जग्गाको सतह भने मिलेको नदेखिनुले बाटाको सतहमै नमिले जग्गालाई कसरी बाटामा मिलाउने काम भयो भन्ने प्रश्न पनि उब्जिएका छन् । यसमा कतै चलखेल त भएको थिएन भन्नेहरू पनि छन् । 

‘गाउँ विकास समितिबाट कुनै निर्णय भएको छैन’ : शिव बराल

बजारका नाममा रहेको भनिएका ३१४, ३१७ र ३२२ नं का कित्ताहरू गाउँ विकास समितिले निर्णय नै गरेर रत्नकुमार वान्तवा मार्गमा प्रयोग गरिएको वडा अध्यक्षसमेत रहेका स्थानीय रमेश कुमार तामाङले भने पनि तत्कालीन बेलबारी गाउँ विकास समितिका अध्यक्ष शिव बराल भने त्यस्तो कुनै निर्णय नभएको बताउँछन् ।

उनी भन्छन् ‘त्यस्तो कुनै निर्णय भएको छैन । सहमतिमा त्यसो गरिएको हुनु सक्छ तर गाउँ विकास समितिले भने त्यसमा कुनै निर्णय गरेको थिएन ।’ 

के भन्छन् स्थानीय जनताहरू ? 

बजारको नामको यति धेरै जग्गा हराउँदा स्थानीय पार्टी तथा सामाजिक अभियान्ताहरु भने बेखवर देखिएका छन् । स–साना कुरामा विरोध जुलुस निकाल्ने राजनैतिक पार्टी र तिनका भातृ वा भगिनी संस्थासमेत बेखवर देखिँदा भने स्थानीय झनै अचम्मित बनेका छन् । 

सरकारी जग्गा कुनै व्यक्तिले प्रयोग गरिरहेको भए खोजी गरेर नगरपालिकाले त्यसको संरक्षण गर्नुपर्ने स्थानीयको माग रहेको छ । सरकारलाई चाँडो भन्दा चाँडो यसको खोजीमा लाग्न पनि स्थानीयले अनुरोध गरेका छन् । यो बजारको नामको जग्गा मात्र नभएर नगरभरि भएका सम्पूर्ण सार्वजनिक जग्गाको यकिन हुनु पर्ने र ती जग्गाकोेसमेत संरक्षण गरिनु पर्ने उनीहरूको माग रहेको छ । 

बजार व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका स्थानीय भुवन बनले आफूहरूले विगत लामो समयदेखि यो आवाज उठाइरहेको भए पनि त्यसको सुनुवाइ नभएको बताएका छन् ।

श्रमिक महिला समूहकी अध्यक्ष नितु थापा कोइराला स्थानीय सरकारले नापजाँच गरेर के भएको यस्तो सत्य तथ्य बाहिर ल्याउनु पर्ने विचार राख्छिन् । 

स्थानीय शिक्षकसमेत रहेका जगत बास्तोला भने आफूहरूले यसअघि नै पार्टीको तर्फबाट नगरभरि रहेका यस्ता जग्गाको खोजी गर्न अनुरोध गर्दै नगरपालिकालाई ध्यानाकर्षण गराएको तर त्यसको सुनुवाइ नभएको बताउँछन् । 

बेलबारी जेसिसका अध्यक्ष राजेन्द्रबहादुर अधिकारी भने राजनैतिक नेतृत्वले हिम्मत गरेर यस्ता निजी तथा सार्वजनिक जग्गा खोजी गरेर तिनको संरक्षण गर्नु पर्ने बताउँछन् ।

नेपाली काँग्रेसका स्थानीय नेतासमेत रहेका अधिकारी कमजोर नेतृत्वकै कारण यस्ता निर्णय गर्न नसक्ने, निर्णय गरिहाले पनि विभिन्न नाममा त्यस्ता निर्णयलाई तुहाएर कार्यान्वयन हुन नदिने प्रवृत्ति रहेको विचार व्यक्त गर्छन् । स्थानीय राजनीतिक दल र स्थानीय सरकारले हिम्मत देखाउनु पर्ने बेला आएको उनको ठहर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्