हाइटीमा आएको भूकम्पबाट ३ सयभन्दा बढीको मृत्यु


काठमाडौँ, ३१ श्रावण । हाइटीमा आएको शक्तिशाली भूकम्पबाट ३ सयभन्दा बढीको मृत्यु भएको छ भने सयौँ बेपत्ता भएका छन् । शनिवार आएको ७.२ म्याग्नेच्युडको भूकम्पका कारण सयौँ मानिस घाइते र बेपत्ता भएका छन् ।

हताहती हुने मानिसको सङ्ख्या बढ्न सक्ने बताइएको छ । यूएस जियोलोजिकल सर्भेका अनुसार हाइटीको राजधानीबाट करिब १५० किलोमिटर पश्चिममा भूकम्प गएको हो । भूकम्पको धक्का छिमेकी क्युबा र जमैकासम्म महसुस गरिएको बताइएको छ ।

भूकम्प गएपछि त्यहाँका मानिस घर छोडेर सुरक्षित स्थानमा गएको बेलायती समाचार संस्था रोयटर्सले जनाएको छ । त्यहाँ भूकम्प गएसँगै सुनामी पनि आउन सक्ने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरिएको छ । 

क्यारेबियन मुलुकको हाइटीमा यसअघि ११ वर्षअघि पनि ७ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यस बेला हजारौँ मानिसको मृत्यु भएको थियो । केही साताअघि मात्रै राष्ट्रपतिको हत्या भएको यो मुलुकमा आएको भूकम्पको सङ्कट थपिएको हो । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्