अफगानिस्तानमा तालिबानको शासन सुरु : काबुल विमानस्थलमा स्थानीयको भिड


काठमाडौँ, ३२ श्रावण । विद्रोही सेना तालिबानले अफगानिस्तानको सत्ता पूर्ण रूपमा कब्जा गरेको छ । राजधानी काबुल कब्जा गरेसँगै तालिबानले २० वर्ष अघि गुमेको सत्ता आफ्नो हातमा लिएको हो । हतियारको भरमा लड्दै आएको तालिबान सेना यतिखेर भने सर्वसाधारण हतियार बुझाउन आग्रह गरिरहेको बताइएको छ ।

तालिबान सेनाहरू सर्वसाधारणसँग भएका हतियार सङ्कलन गर्न थालेको बिबिसीले जनाएको छ । तालिबानका एक अधिकारीले अब नागरिकलाई आफ्नो सुरक्षाका लागि हतियारको आवश्यकता नभएको, सुरक्षाको पूर्ण जिम्मा तालिबानले लिने बताएका छन् ।

बिबिसीको अरबी सेवाका अनुसार ती तालिबानका अधिकारीले भनेका छन्, ‘नागरिकले आफ्नो सुरक्षाका लागि हतियार राख्दै आएका थिए । अब उनीहरू सुरक्षित महसुस गर्न सक्छन् । हामी यहाँ सर्वसाधारणलाई नोक्सान पु¥याउन आएका होइनौँ ।’ 

तालिबान सेना राजधानी काबुल छिरेसँगै अफगान राष्ट्रपति असरफ घानी र उपराष्ट्रपति अमरुल्लाह सालेहले देश छाडेर भागेको बताइएको छ ।  यता तालिबानले देश कब्जा गरेसँगै अमेरिका, बेलायत, जर्मनी तथा भारत लगायतका देशहरूले सैनिक विमानमार्फत आफ्ना नागरिकलाई उद्धार गरिरहेका छन् । अमेरिकी सेनाको कब्जामा रहेको काबुल विमानस्थलमा स्थानीय कोसमेत भिड लागेको छ ।

विदेशीसँगै अफगानीहरु देश छाड्न हतार गरिरहेका भिडियो सार्वजनिक भएका छन् । भिडियोअनुसार त्यहाँको व्यवस्था अस्तव्यस्त देखिएको छ । यतिसम्म कि उड्न लागेको जहाजमासमेत अफगनीहरु चढिरहेको देख्न सकिन्छ । 

प्रतिक्रिया दिनुहोस्