‘नगरभरिका सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने जिम्मेवारी नगरपालिकाकै हो’: शम्भु भट्टराई


बेलबारीमा सार्वजनिक जग्गा अतिक्रमणविरुद्धको खबरदारी

बेलबारी, १ भाद्र । नेपाली काँग्रेस बेलबारीका नगर सभापति शम्भु भट्टराई नगरपालिकाका नाममा रहेका जग्गा व्यक्तिले प्रयोग गर्नु अनुचित रहेको बताउँछन् । उनी हेर्दा सामान्यजस्तो लागे पनि यो विषय गम्भीर रहेको बताउँदै यसलाई नगरपालिकाले गम्भीरताकासाथ लिनुपर्ने बताउँछन् ।

नगरपालिकाले पहल गरेर त्यस्ता दुरुपयोग भएका सरकारी जग्गाहरू आफ्ना नाममा ल्याउनु पर्नेमा उनको जोड रहेको छ । बेलबारी १ मा रहेको बजारको जग्गाको विषय मात्र नभएर नगरभरिका सार्वजनिक जग्गाको संरक्षणमा नगरपालिकाले चासो दिनु पर्ने सभापति भट्टराई बताउँछन् ।

आफू र आफ्नो पार्टीले यस्ता जग्गाको खोजी गर्न र यदि कहीँ कसैबाट अनियमितता भएको भए त्यसलाई कारबाहीको दायरमा ल्याउनु पर्छ भन्ने भट्टराईले मत प्रकट गरेका छन् । उनी भन्छन् ‘म र मेरो पार्टी नेपाली काँग्रेस यस सवालमा प्रस्ट छौँ । नगरपालिकाको नाममा भएका जग्गाहरू नगरपालिकाकै प्रयोजनमा आउनु पर्छ । यदि कसैले दुरुपयोग गरेको छ भने त्यसको खोजी गरेर आफ्नो मातहतमा ल्याउने काम नगरपालिकाकै हो ।’

सभापति भट्टराईले कोशी नेपाल मिडियासँगको कुराकानीमा निम्नलिखित कुरालाई जोड दिएका छन् :-                                          

– बेलबारी नगरपालिकाको नाममा रहेका सम्पूर्ण जग्गा नगरपालिकाकै प्रयोजनमा आउनु पर्ने,                           

– सरकारी जग्गा व्यक्तिले प्रयोग गर्नु नहुने, यदि कहीँ त्यस्तो भएको भए तुरुन्त छानबिन गरेर ती जग्गाहरू नगरपालिकाले आफ्नो मातहतमा ल्याउनु पर्ने,                                         

– सरकारी सम्पत्तिको सुरक्षाको जिम्मा स्थानीय सरकारको भएकोले नगरपालिकाले त्यसको जिम्मा लिनु पर्ने,                                         

– स–साना व्यापारिक प्रतिष्ठानसमेत घरायसी भइरहेको बेलामा यति ठूलो व्यापारिक प्रतिष्ठान (निर्माणाधीन बेलबारी सपिङ कम्प्लेक्स) को निर्माणको निर्णयमा विकासलाई रोक्नु हुन्ने भनेर काँग्रेसले फरक मतका साथ सहमति जनाएको,

– बेलबारीको विकासमा सबैको उत्तिकै भूमिका रहेको,

नेपाली काँग्रेसका स्थानीय नेतासमेत रहेको राजेन्द्रबहादुर अधिकारीले यसअघि नै बेलबारी १ मा रहेको बजारको जग्गा हराएको सन्दर्भलाई लिएर कमजोर राजनैतिक तथा नगरपालिको नेतृत्वका कारणले यस्ता घटना घट्ने गरेको प्रतिक्रिया दिएका थिए । बेलबारी जेसिसका वर्तमान अध्यक्षसमेत रहेका अधिकारीले राजनीतिकै आश्रयमा यस्ता काम हुने गरेकोसमेत बताएका थिए । यस्ता विषयको उठान भए पनि राजनैतिक आश्रयकै कारणले कार्यान्वयनको चरणमा पुग्दा असफल हुने गरेको उनको अनुभव रहेको छ ।                   

बेलबारी नगरपालिका वडा नं १ मा अण्डरग्राउण्डसहित पाँचतले सुविधा सम्पन्न सपिङ कम्प्लेक्सको निर्माण भइरहेको छ । आफ्नै नगरमा अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न व्यापारिक भवन बन्न लाग्दा हौसिएका बेलबारीका स्थानीयहरू बजारका नाममा रहेका करिब ७ कठ्ठा गायब भएको थाहा पाए पछि त्यसै आन्दोलित हुँदै आएका छन् । बेलबारीको सोमवारे हटियाको नाममा करिब १४ कठ्ठा जग्गा भएको बताइए पनि हाल बजारले भने साढे सात कठ्ठा मात्र प्रयोग भइरहेको छ । बाँकी अरू जग्गाको खोजी गरेर बजारकै प्रयोजनमा ल्याउन माग गरिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्