एमाले आधिकारिक रूपमा विभाजित : ‘एमाले समाजवादी’ दल दर्ताको प्रक्रियामा


काठमाडौँ, २ भाद्र । नेकपा एमाले आधिकारिक रूपमा विभाजित भएको छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी विभाजन गर्दै नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएसँगै एमाले आधिकारिक रूपमा विभाजन भएको हो । नयाँ दल दर्ताका लागि नेताहरु निर्वाचन आयोगमा पुगिसकेको बताएको छ ।

वर्तमान गठबन्धनको देउवा नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपतिले राजनैतिक दल सम्बन्धी अध्यादेश प्रमाणीकरण गरेसँगै नेपाल –खनाल समूहलाई नयाँ दल दर्ता गर्न बाटो खुलेको थियो । माधव नेपालको नेतृत्वमा दर्ता भएको नयाँ दलको नाम नेकपा एमाले (समाजवादी) राखिएको छ भने नयाँ पार्टीको चुनाव चिन्ह भने खुल्ला किताब राखिएको छ । 

नेकपा एमालेलाई विभाजनबाट जोगाउन अनेक प्रयास भएका थिए । विभाजनलाई जोगाउनै भनेर पार्टीका दोस्रो पुस्ताका नेता सम्मिलित टिमले १० बुँदे समझदारी पत्रसमेत तयार भएको थियो । दोस्रो तथा तेस्रो पुस्ताका नेतासम्मले पार्टीलाई एक ढिक्का राख्न गरेको प्रयास त्यतिकै खेरा गएको छ । 

प्रतिक्रिया दिनुहोस्