‘सार्वजनिक सम्पत्तिको प्रयोग सार्वजनिक हितकै लागि हुनुपर्छ’ : पर्शुराम सुवेदी


(बेलबारीमा सार्वजनिक जग्गा अतिक्रमणविरुद्धको निरन्तर खबरदारी)

बेलबारी, ५ भाद्र । माओवादी केन्द्रका बेलबारी नगरकमिटी अध्यक्ष पर्शुराम सुवेदी सार्वजनिक सम्पत्तिको सदुपयोग सार्वजनिक प्रयोजनमै हुनुपर्ने बताउँछन् । उनी लामो समयसम्म कर्मचारीबाट देश सञ्चालित हुँदा भित्रिएको बेथिति स्थानीय सरकार आएसँगै रोकिनु पर्नेमा त्यसो हुन नसकेको बताउँछन् । 

उनी भन्छन् ‘हिजो लामो समयसम्म देश कर्मचारीबाट सञ्चालन भयो । कर्मचारीबाट देश सञ्चालित भएको बखतमा उनीहरूलाई यी यावत कुराको चासो रहेन । जसको परिणाम स्वरूप धेरै सार्वजनिक सम्पत्ति अतिक्रमण हुन पुगे । पछिल्लो समय सार्वजनिक जग्गाको अतिक्रमण तथा त्यस्ता जग्गा आफ्नो नाममा पार्ने क्रम बढेर गएको छ । यो क्रम रोकिएको छैन । स्थानीय सरकार बने पछि यो क्रम रोकिनु पर्थ्यो, यस्ता गलत निर्णयलाई नगरपालिकाले उल्ट्याउनु पर्थ्यो तर त्यस्तो हुन सकेन ।’ 

उनी यी र यस्ता सार्वजनिक सम्पत्तिको सुरक्षा गर्ने जिम्मा स्थानीय सरकारको भएको बताउँछन् । उनी भन्छन् ‘यस सवालमा हाम्रो धारण प्रस्ट रहेको छ । सरकारी जग्गा कुनै पनि नाममा दुरुपयोग हुनु हुँदैन । सार्वजनिक जग्गा सार्वजनिक हितमै गरिनु पर्छ । स्थानीय सरकारको नाताले ती सार्वजनिक सम्पत्तिको संरक्षणको दायित्व नगरपालिकाकै हो । तर नगरपालिकाले यसमा राजनैतिक पार्टीको भूमिकाको अपेक्षा गरेमा हामी त्यो भूमिकाबाट पछि हट्दैनौँ ।’  

अध्यक्ष सुवेदीले कोशी नेपाल मिडियासँग राखेको बिचारको सारलाई तल बुँदागत रूपमा उल्लेख गरिएको छ :

– बेलबारीको पहिचानलाई जीवित राख्नु आजको आवश्यकता हो, बेलबारीलाई बचाउने जिम्मा हामी सबैको हो, 

– बेलबारीमा केही भएको छैन भन्ने होइन, धेरै काम भएका छन् तर योजनाबद्ध नहुँदा परिणाम नदेखिएका हुन्, 

– देशको मूल नीति राजनीति भएकोले कुनै पनि कुरा राजनीतिनिरप्रेक्ष हुन नसक्ने, 

– जनप्रतिनिधि नहुँदा बढेको सार्वजनिक जग्गा माथिको अतिक्रमणको सिलसिला अझै पनि नरोकिएको, झनै बढेको, 

– आफूहरूले धनपाल गढीको सन्दर्भलाई लिएर एउटा नगरस्तरीय समिति बनाएर ती अतिक्रमित जग्गाको बारेमा खोजी गर्नुपर्ने भनेर आवाज उठाए पनि त्यस्को सुनुवाइ नभएको, 

– सार्वजनिक सम्पत्ति संरक्षण ऐन १ वर्ष अघि नै आए पनि समिति बन्न नसक्नु दुर्भाग्य रहेको, चाँडो समिति गठन हुनु पर्ने, 

– भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसवासीको समस्या चाँडो हल गरिनु पर्ने, वास्तविक भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासको जमिन माथिको अधिकार सुनिश्चित हुनुपर्ने,

– स–साना व्यापारिक प्रतिष्ठानसमेत घरायसी भइरहेको बेलामा यति ठूलो व्यापारिक प्रतिष्ठान (निर्माणाधीन बेलबारी सपिङ कम्प्लेक्स) को निर्माणको निर्णयमा विकासलाई रोक्नु हुन्न भन्ने मान्यताका साथ आफ्नो पार्टीले फरक मतका साथ सहमति जनाएको,

सार्वजनिक सम्पत्तिको दुरुपयोग रोक्न राजनैतिक पार्टीको तर्फबाट पटक पटक सचेत गर्ने काम भए पनि सम्बन्धित नियाकाबाट चासो नदिएको स्थानीय जगत बास्तोला बताउँछन् । बजार व्यवस्थापन समितिमासमेत रहेर काम गरेका बास्तोला आफूहरूले अनौपचारिक रूपमा मात्र नभएर औपचारिक रूपमा पनि बजारका नाममा रहेका जग्गाहरूको खोजी गर्नु पने आवाज उठाए पनि त्यसको सुनुवाइ नभएको उनी बताउँछन् ।

माओवादी केन्द्रसँग निकट मानिने बास्तोला बजारको नाममा रहेका यी जग्गा मात्र  नभएर उनी अब नगरभरिकै सार्वजनिक जग्गाको खोजी हुनु पर्ने बिचार राख्छन् । 

आफ्नै नगरमा अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न व्यापारिक भवन बनिरहँदा हौसिएका बेलबारीका स्थानीयहरू बजारका नाममा रहेका जग्गा नै गायब भएको थाहा पाए पछि त्यसै आन्दोलित हुँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्