सांसद शाही र वलीलाई पदमुक्त नगरेकोमा सभामुखप्रति एमालेको आक्रोश


 बुटवल, ७ भाद्र । सांसद शाही र वलीलाई पदमुक्त नगरेकोमा लुम्बिनी प्रदेशसभाका सभामुखप्रति एमालेले आक्रोश व्यक्त गरेको छ । शाही र वलीमाथि पार्टीले गरेको कारबाहीलाई प्रदेशसभाले मान्यता नदिएपछि एमालेले यस्तो आक्रोशित व्यक्त गरेको हो । 

एमाले संसदीय दलले आइतवार पत्रकार सम्मेलनको आयोजना गरेर शाही र वलीलाई पदमुक्त नगरेसम्म संसद् चल्न नदिने बताएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले पत्रकार सम्मेलनमा प्रदेशसभा सचिवालयले सांसद द्वयको सन्दर्भमा कारबाही गर्न नमिल्ने भन्ने जिकिरसहित पठाएको पत्रका बारेमा आपत्ति जनाउँदै सांसद शाही र वलीलाई नहटाएसम्म संसद् नै चल्न नदिने बताएका छन् ।

एमाले सांसद शाही र वलीलाई कारबाही गर्दै सांसद पदबाट हटाउँदै संसद् सचिवालयलाई पानकारी गराएको थियो । तर संसद् सचिवालयले भने वली र शाहीको सांसद पद गुमेको जानकारी गराएको छैन ।

उता शाहीले आफू स्वतन्त्र सांसद भएकोले एमालेको आफूलाई गरेको कारबाहीको कुनै अर्थ नरहेको बताउँदै आएका छन् । शाही नवगठित नेकपा एकीकृत समाजवादी र वली माओवादी केन्द्रनिकट मानिन्छन् ।  

प्रतिक्रिया दिनुहोस्