‘तालिबानको कसाइ’ भनेर चिनिने पूर्व गभर्नरले लिए तालिबानप्रति बफादारीको शपथ


काबुल, ७ भाद्र । तपाईँ अफगानिस्तानमा बस्दै आउनु भएको छ वा पछिल्लो २० वर्षमा अफगानिस्तानको राजनीतिलाई नजिकबाट नियालिरहनु भएको छ भने तपाईँले पक्कै पनि अफगानिस्तानको ‘बुल्डोजर’ नामले चिनिने गुल आगा शेरजाईलाई चिन्नु हुन्छ ।


अब अफगानिस्तानका महत्त्वपूर्ण व्यक्तिको रूपमा चिनिने शेरजाई ‘इस्लामिक इमिरेट्स अफगानिस्तान’ को पनि प्रमुख व्यक्ति बनेका छन् । शेरजाई सीआईएका पूर्व एजेन्ट हुन् । उनी यसअघि कन्दाहार र नन्गरहार प्रान्तको गभर्नर भइसकेका व्यक्ति हुन् । आइतबार शेरजाईले तालिबानप्रति बफादारीको शपथ लिएका छन् । तालिबानका अनुसार गुल आगा शेरजाई अब तालिबान सरकारको हिस्सा हुनेछन् ।
सन् २००१ मा अमेरिकाको सहयोगी गठबन्धन नेटोले अफगानिस्तानमा आक्रमण गर्दा गुल आगा शेरजाई अमेरिकाको समर्थन गर्ने पहिले व्यक्ति थिए । दक्षिणी प्रान्त कन्दाहारमा उनी सीआईएसँग जोडिएका थिए र तालिबानविरुद्धको युद्धमा सामेल भएका थिए । अफगानिस्तानमा तालिबानको सत्ता आउनुभन्दा पहिला उनी कन्दाहार प्रान्तका गभर्नर थिए र सन् २००१ मा तालिबानलाई सत्ताबाट हटाउँदासम्म कन्दाहार भन्दा बाहिरै थिए ।


तालिबानलाई सत्ताबाट हटाइएपछि भने उनी पुनः कन्दाहार फर्किएका थिए । उनी सीआईए र पूर्व राष्ट्रपति हामिद कारजाईका निकट थिए । शेरजाई २००३ सम्म कन्दाहारको गभर्नर बनेका थिए । पछि उनी नन्गरहार प्रान्तको गभर्नर बनेका थिए ।


शेरजाईलाई किन बुल्डोजर भनिन्छ ?


उनी निकट व्यक्तिहरूका अनुसार शेरजाईले २००५ देखि २०१३ सम्म नन्गरहार प्रान्तको गभर्नरको रूपमा काम गरेर बुल डोजरको उपाधि पाएका थिए । उनका साथीहरूका अनुसार गभर्नरको रूपमा निले नन्गरहारको विकट क्षेत्रहरूको भ्रमण गरेका थिए । सो क्रममा अधिकांश मानिसको माग सडक हुन्थ्यो । सडक नहुँदा वा बन्द हुँदा यहाँका मानिसले समस्या भोगिरहेका थिए । शेरजाईले उनीहरूको माग सुन्ने मात्र होइन, त्यसको तत्काल समाधान पनि खोज्थे ।


गभर्नर शेरजाई अक्सर विकट क्षेत्रको यात्रामा जाँदा तत्काल पैसा तथा मेशिनरी सामग्रीहरू दिन्थे । यसो गर्दा त्यहाँका मानिसले कुनै प्रतीक्षा नगरी सडक निर्माणको काम सुरु हुन्थ्यो । गुल आगा शेरजाईको एक निजी निर्माण कम्पनी पनि थियो र स्रोतका अनुसार उनी अक्सर सडक बनाउने काम गर्न आफ्नो निर्माण कम्पनीको बुल्डोजर र अन्य ठूला मेसिनरी सामग्रीको प्रयोग गर्थे । त्यसैले उनलाई बुल्डोजरको रूपमा चिनिन थालेको थियो ।


रमाइलो कुरा के हो भने शेरजाईले आफूलाई बुल्डोजरको उपाधि दिँदा कुनै नराम्रो मानेनन् र सन् २०१४ को राष्ट्रपति निर्वाचनमा पनि उनको चुनाव चिह्न बुल्डोजर नै थियो ।


अग्ला र बलिष्ठ शरीर भएका शेरजाईलाई टाइम पत्रिकाले ‘जब्बा द हट’ नाम दिएको थियो । उनका निकट रहेका सहयोगीका अनुसार उनले कन्दाहारपछि लामो समयसम्म राष्ट्रपतिसँग हेरात, कन्दाहार वा नन्गरहार प्रान्तको गभर्नरको पद मागेका थिए । उनले कारजाईसँग अन्य कुनै पनि प्रान्तको गभर्नर पद नचाहिएको बताएका थिए ।


यी तीन प्रान्त इरान र पाकिस्तानसँगको व्यापारको प्रमुख मार्ग थियो । त्यसैले शेरजाईलाई यी तीन प्रान्तमा चासो थियो । शेरजाई तालिबानको कट्टर विरोधीको रूपमा थिए र उनलाई ‘तालिबानको कसाइ’को रूपमा चिनिन्थ्यो । २००१ मा तालिबानलाई हटाउँदा उनले धेरै तालिबान र अलकायदाका लडाकुलाई मारेका थिए ।


सङ्गीत प्रेमी बुल्डोजर


शेरजाईका साथीहरूका अनुसार उनी संगीतप्रेमी छन् र आफैँ पनि गीत गाउँछन् । ‘राका जाम राका जाम’ शेरजाईले गाएको एक पत्तो गीत हो । यो गीत धेरै वर्ष पहिले भाइरल भएको थियो ।


‘राका जाम’ पस्तो गीत रुचाउने धेरै मानिस छन् । तर, उनी लामो यात्रामा बुलेटप्रुफ गाडीमा जाँदै गर्दा यो गीत गाउँथे । यात्रामा उनी आफ्ना सहयोगीलाई गीत कस्तो छ भनेर सोध्थे । उनी निकट व्यक्तिहरूका अनुसार आफ्नो प्रान्तमा काम राम्रोसँग भए÷नभएको जाँच गर्न छड्के पनि जान्थे र दोषीलाई तत्काल कारबाही गर्थे ।


अब बने तालिबानका बुल्डोजर

तालिबानका समर्थकले सामाजिक सञ्जालमा राखेको एक भिडियोमा शेरजाई तालिबानका नेता खलिल उर्रहमान हक्कानीप्रति बफादारीको शपथ लिइरहेको देख्न सकिन्छ । यसअघि तालिबानले काबुलमा कब्जा जमाउँदा गुल आगा शेरजाईले एक भिडियो जारी गर्दै तालिबानलाई बधाई दिएका थिए र उनीहरुलाई स्वागत पनि गरेका थिए ।


तालिबानले शेयर गरेको भिडियोमा शपथ मुफ्ती जाकिरले शेरजाईले उनी अब अफगानिस्तानको बुल्डोजर भएको घोषणा गर्छन् भनेर भनेको सुनिन्छ । त्यसको जवाफमा शेरजाई टाउको हल्लाउँदै भन्छन्, पक्कै हो । मुफ्ती जाकिरले फेरि भन्छन्, ‘अब म भन्छु कि हामी उनी हामी सबै इस्लामिक इमिरेट्स र अमीर उल मोसीनिनदेखि पुरा अफगानिस्तान बनाउने बुल्डोजर हुनेछन् ।’


तालिबानका नेताले कुनै पनि अफगानी नेताप्रति कुनै दुश्मनी नरहेको बताउँदै आएका छन् । तालिबानले सबैलाई आममाफी दिएको बताएको छ । यद्यपि तालिबानमाथि आत्मसमर्पण गरेपछि पनि धेरै मानिसको हत्या गरेको आरोप छ । तालिबानले भने यसलाई षडयन्त्र भएको भन्दै अस्वीकार गर्दै आएको छ । (बिबिसीबाट)

प्रतिक्रिया दिनुहोस्