एकीकृत समाजवादीमा ५५ केन्द्रीय सदस्यसहित २९ सांसदको सनाखत


काठमाडौँ, ९ भाद्र । नवगठित दल एकीकृत समाजवादीमा ५५ केन्द्रीय सदस्यसहित २९ सांसदले सनाखत गरेका छन् । निर्वाचन आयोगमा भएको सनाखत कार्यक्रममा माधवकुमार नेपाल अध्यक्ष रहेको दल नेकपा (एकीकृत समाजवादी) मा यी सङ्ख्या बराबरका केन्द्रीय सदस्य तथा सांसदहरूले सनाखत गरेका हुन् । 

मङ्गलवार निर्वाचन आयोगमा नाम दर्ता गराएका सोमप्रसाद पाण्डेसहितका चार सांसदको निर्वाचन आयोगले सनाखत लिन भने अस्वीकार गरेको छ । ती चार जना सांसदको सनाखत गरिदिन भन्दै माधवकुमार नेपालसहितका नेताहरूले निर्वाचन आयुक्तहरूसँग अनुरोध गरे पनि आयोगले त्यसलाई कानुनविपरित हुने भन्दै अस्वीकार गरिदियो । 

आयोगले सनाखत गर्न बुधवारको २ बजेसम्मको समय तोकेको  थियो । उता भारतमा उपचाररत नेता झलनाथ खनालले भने दिल्लीस्थित दूतावासबाटै सनाखत गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्