छानबिन समितिले सदस्य सचिवलाई प्रतिवेदन बुझायो


काठमाडौँ, ९ भाद्र । राष्ट्रिय खेलकुद परिषद्ले फुटबल सङ्घ भित्रको विवाद समाधानका लागि परिषद्का सदस्य पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा गठित ‘विवाद समाधान छानबिन समिती’ले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवाललाई आफ्नो प्रतिवेदन बुधवार बुझाएको छ । 

युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल सङ्घको वर्तमान अवस्थामा सङ्घ भित्र भएको विवाद समाधानका लागि छानबिन समिति गठन गर्न अनुरोध भएकोमा राखेपको कार्यकारी समितिको मिति २०७८ श्रावण १९ गतेको निर्णयअनुसार सदस्य पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा सदस्य रेणु श्रेष्ठ, सुवर्ण श्रेष्ठ, चन्द्रबदना राई, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन बि.क., कानुन शाखाका प्रमुख नारायण राज अर्याल र सचिवमा सङ्घ संस्था समन्वय शाखाका प्रमुख सरोज पोखरेल गरी ७ सदस्य “ विवाद समाधान छानबिन समिती” गठन गरेको थियो ।

परिषद्का निमित्त सदस्य सचिव केन्द्र कुँवरले उक्त समितिलाई सत्य तथ्य सहित ७ दिन भित्र प्रतिवेदन पेस गर्न जिम्मेवारी दिएको थियो । प्रतिवेदन बुझ्दै सदस्य सचिव सिलवालले प्रतिवेदनको विस्तृत अध्ययन पश्चातमात्र यथार्थ स्थितीका बारेमा बताउन सक्ने बताए । 

प्रतिक्रिया दिनुहोस्