‘सार्वजनिक सम्पत्तिको संरक्षण गरिनु पर्ने सवालमा कसैको पनि विमति छैन’ : तिलक साम्पाङ राई


बेलबारीमा सार्वजनिक जग्गा अतिक्रमणविरुद्धको निरन्तर खबरदारी

बेलबारी, १० भाद्र । जनता समाजवादी पार्टी नेपालका बेलबारी नगर कमिटी अध्यक्ष तिलक सांपाङ राई बेलबारीमा रहेका सार्वजनिक जग्गाको संरक्षण हुनुपर्छ भन्ने सवालमा सबै एकमत भएको बताउँछन् । 

भारतीय सैनिक सेवाबाट निवृत्त जीवन बिताइरहेका राई २०५४ सालदेखि बेलबारीलाई आफूले नजिकबाट नियाली रहेको बताउँछन् । उनी हाल जनता समाजवादी पार्टीको बेलबारीको नेतृत्व सम्हाल्दै आएका छन् । 

बामपन्थी राजनीतिबाट विद्यार्थी राजनीति सुरु गरेका राईले २०७१ सालदेखि जनता निरन्तर रूपमा समाजवादी पार्टीको नगर कमिटीको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका राई पहिचानको समस्या हल नहुँदासम्म अन्य अन्य समस्या हल नहुने बिचार व्यक्त गर्छन् । 

राजनैतिक दल बिचमा एकता नहुँदा नगरभित्र हुने भ्रष्ट्राचार, अनियमितता जस्ता कुरालाई रोक्न नसकिएको जिकिर गर्ने राई सहारा काण्ड पछि राजनैतिक पार्टीमा सहकार्यको विकास भए पनि त्यसले निरन्तरता भने पाउन नसकेकोमा दुःख व्यक्त गर्छन् । राजनैतिक पार्टीहरूले आफ्नो भूमिका निभाउन नसक्दा देश आजको यो अवस्थामा आइपुगेको राईको मत रहेको छ ।  

उनी भन्छन् ‘राजनैतिक पार्टीहरूले आफ्नो सक्रियता जति बढाउनु पने थियो त्यसो गर्न नसकेको पक्कै हो । नगरमा भएका राजनैतिक पार्टीहरूले स्थानीय सरकारलाई सचेत गराउनु पर्ने थियो तर विभिन्न स्वास्थ्यकर कारणले त्यो गर्न सकेनन् । फलतः बेलबारीले अपेक्षाकृत रूपमा फडको मार्न सकेन ।’ 

बेलबारीमा सार्वजनिक सम्पत्तिको अत्याधिक रूपमा दोहन भएको, त्यसमा एउटा गिरोह नै लागिरहेको उनी बताउँछन् । उनी भन्छन् ‘खोला, पैनीलाई ओगटेर संरचना बनाउने क्रम रोकिएको छैन । यसरी सार्वजनिक पैनी तथा खोलाको जग्गा ओगटेर संरचना निर्माण गरिँदा सानो पानी पर्दासमेत घरघरमा बाढी पस्ने गरेको छ । खोला तथा पैनीको जग्गा ओगटेर संरचना निर्माण गर्नेमा नगरका हुनेखाने नै अघि रहेका छन् । हामीले नगरपालिकालाई यसबारेमा सचेत गराइरहेका छौँ तर नगरपालिकाले चासो दिएको छैन ।’ 

उनी विभिन्न कालखण्डमा भएका योजनाहरूकोसमेत हिसाब किताबको सार्वजनिक नभएको, यस्तो कुरामा नगरपालिकाले आफै चासो लिनु पर्नेमा जानकारी गराउँदासमेत त्यसको सुनुवाइ नभएको उनी बताउँछन् । राजनैतिक दल तथा त्यसका खेमा योजना सञ्चालनका प्रमुख हिस्सेदार भएकै कारणले पनि धेरै सम्पन्न योजनाको हिसाब किताब सार्वजनिक नभएको उनको ठहर रहेको छ । 

अध्यक्ष राईले कोसी नेपाल मिडियासँग राखेको बिचारको सारलाई तल बुँदागत रूपमा उल्लेख गरिएको छ :–

– समुन्नत बेलबारीको विकासमा सबैको उत्तिकै भूमिका रहने, 

– राजनीति भित्र भएका गुटउपगुटका कारणले पनि राम्ररी काम हुन नसकेको, 

– बेलबारीमा अपेक्षाकृत विकास नहुनुमा केही व्यक्ति विशेष वा जाती विशेष मुख्य दोषी रहेको, 

– जातीय एकल प्रभुत्वका कारण पनि बेलबारीको विकास अपेक्षाकृत रूपमा अगाडि बढ्न नसकेको, पछिल्लो समय केही परिवर्तन आए पनि त्यो अझै अपुरो रहेको, समावेशी, समानुपातिक प्रतिनिधित्व गरिनु पर्ने, 

– राजनैतिक पार्टीहरूको भूमिका कमजोर देखिएको, यही कमजोर भूमिकाका कारण स्थानीय सरकार हाबी हुँदा अपेक्षाकृत काम हुन नसकेको,  

– राजनैतिक आश्रयका कारण भ्रष्ट्राचार र अनियमितताको जालोलाई तोड्न नसकिएको, यो जालोलाई तोड्न सबैको महत्त्वपूर्ण भूमिका रहने,  

– खोला, पैनीको जग्गा व्यक्तिले अतिक्रमण गरेर संरचना बनाउँदासमेत स्थानीय सरकारले वास्ता नगरेको, 

– अन्तराष्ट्रियस्तरको सपिङ कम्प्लेक्स बन्नु आफैमा राम्रो काम भएको, तर त्यसको सही सदुपयोग हुनु पर्ने, 

– बेलबारी १ मा रहेको हटियाका प्रयोजनमा रहेका नगरपालिकाका जग्गा गायब भएको विषय मिडियाबाटै थाहा पाएको, छानबिन गरेर त्यसको सत्य तथ्य बाहिर ल्याउनु पर्नेमा आफूहरू प्रस्ट रहेको, 

– जनसहभागिताका कारणले धेरैजसो योजनाहरू सञ्चालन हुन नसक्दा बजेट फ्रिज हुने गरेकोले साझेदारीको दर घटाएर शून्यमा पुर्‍याउनु पर्ने, 

– नगरमा भएका सङ्घ संस्थामा एकल पार्टी वा जातीय प्रतिनिधित्व रहेको, त्यसलाई हटाएर समावेशी समानुपातिक प्रतिनिधित्व गरिनु पर्ने, 

बेलबारी नगरपालिका वडा नं १ मा अण्डरग्राउण्डसहित पाँचतले सुविधा सम्पन्न सपिङ कम्प्लेक्सको निर्माण भइरहेको छ । करिब १२ करोडको लगानीमा निर्माण भइरहेको उक्त सुविधा सम्पन्न कम्प्लेक्सको अण्डरग्राउण्डमा पार्किङ र अरू तलामा व्यावसायिक प्रयोजनमा आउने नगरपालिकाले बताएको छ । 

बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहले १७ करोण ३९ लाख ५६ हजार ६ सय ६६ मा टेण्डर आह्वान हुँदा ‘रविना, अविशा अवियान जेबी काठमाडौँले भ्याट सहित ११ करोड ९९ लाख ८५ हजार ७ सय १४ मा निर्माण कार्यको अनुमति पाएको, १८ महिनामा निर्माण सम्पन्न गरेर नगरपालिकालाई जिम्मा लाउने गरी काम भैरहेकोे जानकारी दिएका छन् । 

नगर विकास कोषको ७० प्रतिशत ऋण लगानी र बेलबारी नगरपालिकाको ३० प्रतिशत आर्थिक लगानीमा निमार्ण हुने उक्त सुविधा सम्पन्न कम्प्लेक्सको ‘बेलबारी सपिङ कम्प्लेक्स तथा स्थानीय उत्पादन केन्द्र’ नाम दिएको छ । 

विगत लामो समयदेखि लाग्दै आएको बेलबारी १ मा रहेको सोमवारे हटियाको प्रयोजनका लागि करिब १४ कठ्ठा जग्गा भएको बताइए पनि हाल बजारले भने साढे सात कठ्ठा मात्र प्रयोग भइरहेको देखिन्छ । बाँकी अरू जग्गा कहाँ छन्, कसले प्रयोग गरिरहेका छन् भन्ने जानकारीसमेत छैन । बजारका नाममा रहेका जग्गाको खोजी गरेर बजारकै प्रयोजनमा ल्याउन स्थानीयहरू माग गरिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्