‘ओलीको अहङ्कारका कारण नयाँ पार्टीको दर्ता गर्नु परेको हो’ : माधव नेपाल


काठमाडौँ, १० भाद्र । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको अहङ्कारका कारण नयाँ पार्टी खोल्नु परेको बताएका छन् । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा आयोजित पहिलो पत्रकार सम्मेलनमा नव गठित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नवगठित एकीकृत समाजवादीका अध्यक्ष नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको अहङ्कार र व्यक्तिवादी व्यवहारका कारण एमालेमै रहनसक्ने अवस्था नरहे पछि बाध्य भएर नयाँ पार्टी गठन गर्नु परेका बताए । 

नेपालले आफूलाई साथ छाड्ने एमालेका दोस्रो तहका नेताहरूप्रति कुनै आक्रोश नपोखे पनि हिम्मत नभएकाको संज्ञा दिएका छन् । उनले भने ‘हिम्मत नभएका थन्किन्छन्, क्रान्तिकारी चेत भएकाहरू नयाँ आन्दोलनमा जुट्छन् । हामी कम्युनिस्ट पार्टीको पुनर्गठन गर्दै क्रान्तिकारी बनाउने महत्त्वपूर्ण पाइला चालिरहेका छौँ ।’

उनले इतिहासमा पटक पटक विद्रोह भएको उदाहरण दिँदै पार्टीमा यस्ता विद्रोह जायज रहेको बताए । साथै अध्यक्ष नेपालले आफू आजीवन राजनीति नगर्ने बताएका छन् । उनले पार्टीलाई एउटा अवस्थामा पुर्‍याए पछि आफू युवापुस्तालाई जिम्मेवारी सुम्पिन तयार रहेको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्