विकास निर्माणका काममा राजनीति नगर्न नगरप्रमुख दाहालको आग्रह


चितवन, १२ भाद्र । विकास निर्माणका काममा राजनीति नगर्न भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले आग्रह गरेकी छिन् । शनिवार कविलास स्वास्थ्य चौकी तथा डालेटार आयुर्वेद स्वास्थ्य केन्द्र भवनको शिलान्यास गर्दै नगरप्रमुख दाहालले उक्त कुरा बताएकी हुन् । 

राजनैतिक सहमति नजुट्दा भरतपुर महानगरपालिका २९ मा कविलास स्वास्थ्य चौकी तथा डालेटार आयुर्वेद स्वास्थ्य केन्द्रको भवन लामो प्रयासपछि मात्र शिलान्यास भएको थियो । सबैको सामूहिक साथ र सहयोगबाट मात्र उपलब्धि हासिल गर्न सकिने बताउँदै उनले विकास निर्माणमा कोही कसैले राजनीति गर्न आग्रह गरिन् । 

नगरप्रमुख दाहालले आफू नगरको विकासमा सधैँ लागिरहेको बताइन् । कार्यक्रमलाई सम्बोधन गर्दै भनिन् ‘भरतपुर महानगरपालिकामा जनप्रतिनिधिको रूपमा आएसँगै आत्मनिर्भर र योजनाबद्ध विकासको लागि दृढताका साथ लागिपरेको छु ।’

शिलान्यास कार्यक्रममा उपप्रमुख पार्वती शाह ठकुरीले निर्माणाधीन स्वास्थ्य चौकी भवन समयमै गुणस्तरीय ढङ्गले निर्माण कार्य सम्पन्न गर्नु पर्ने कुरामा जोड दिएकी थिइन । 

प्रतिक्रिया दिनुहोस्