ट्रिफरले बाटो हिड्नै नहुने बनाइदिए पछि तीनघरे टोलका स्थानीय आक्रोशित, चाँडो स्टक हटाउन आग्रह


स्थानीय भन्छन् 'एकपटकलाई भइगयो अब भने यस्तो साँघुरो स्थानमा मिसगिटी भण्डारन गर्न दिँदैनौँ '

बेलबारी, १२ भाद्र । ट्रिफरले बाटो बिगारेर हिँड्ने नहुने बनाइदिएपछि पछि बेलबारीको तीनघरे टोलका स्थानीयहरू आक्रोशित भएका छन् । बेलबारी नगरपालिका वडा नं –२, लालभित्ती दक्षिणमा रहेको तीनघरे टोलमा रहेको खाली जग्गामा राखिएको मिसगिटी लैजान दैनिक रुपमा प्रयोग हुने ट्रिफरले बाटो हिँड्नै नहुने गरी बिगारिदिए पछि उनीहरू आक्रोशित भएका हुन् । 

सहमति अनुसार काम नभएको भन्दै उनीहरूले ढाट नै लगाएर ट्रिफरलाई टोलमा पस्न रोक लगाउँदै आएका छन् । साँघुरो बाटो, त्यसमा पनि पानी परेको बेलामा ट्रिफर नियमित रुपमा हिँडिदिँदा मानिस आवतजावत गर्नै नहुने गरी बाटो बिग्रिएको स्थानीय बताउँछन् ।

मिसगिटी भण्डारण गरिएको उक्त खाली जग्गा स्थानीय लक्ष्मण थापाको रहेको छ । एक बिगाहा बराबरको क्षेत्रफलमा रहेको उक्त जग्गा थापाबाट सयपत्री मल्टीप्रपोजका सञ्चालक माधवराज थापाले वार्षिक ५० हजारमा लिजमा दिएका छन् । यस अघि यो जग्गा सुन्दरहरैँचा –१० खोर्सानेका बलभद्र गिरीले इन्द्रपुर ड्राइभिङ सेन्टरका लागि भाडामा लिएका थिए । तर ड्राइभिङ सेन्टरले जग्गा भाडामा लिए पनि प्रयोगमा भने आएको थिएन । पछिल्लो समय भने यही जग्गामा मिसगिटीको भण्डारण हुँदै आएको छ । 

समाजलाई असर हुने काम गर्न नपाइने सर्तमा आफूले उक्त जग्गा भाडामा दिएको जग्गाधनी थापा बताउँछन् । उनी भन्छन् –खाली रहेको जग्गा मागेकोले मैले भाडामा दिएको हुँ, आफूसँग भएको व्यक्तिगत सम्पत्ति कानुनले वर्जित गरेको बाहेकको काममा प्रयोग गर्न पाउने मेरो अधिकार पनि हो । मैले जग्गा भाडामा दिँदा प्रस्टसँग समाजलाई असर हुने काम गर्न पाइँदैन भनेको छु ।’

तीनघरे टोलविकास संस्थाका अध्यक्ष करण धिमाल उक्त स्थानमा रहेको नदीजन्य सामग्रीको स्टक (मिसगिटी) निकाले पछि बाटो बनाइदिने सल्लाह भएको बताउँछन् । पानी परेको बेला ट्रिफर चलाउन दिनु नहुने स्थानीयको मागमा उनी आफ्नो पनि सहमति रहेको बताउँछन् । 

साँघुरो बाटो त्यसमा पनि दैनिक रुपमा लस्करै चल्ले ट्रिफरले बाटो हिँड्नै कठिन भइरहेको स्थानीयहरुको गुनासो रहेको छ । यति सम्म कि ट्रिफर चलेको बेलामा पैदल हिँड्नसमेत नसकिने, ट्रिफर आएको बेलामा त साइट छाड्दा खेततिर पस्नु परेको स्थानीय कल्पना धिमाल बताउँछिन् । स्थानीयले बाटो बिग्रियो भनेर विरोध गरेपछि ठेकेदारले ग्रेडर ल्याएर बाटो सम्माउने काम गरिदिएका छन् । तर ग्रेडर ल्याएर सम्म पारे पछि त झन् पैदल हिँड्नै कठिन भएको धिमालको मत रहेको छ । 

स्थानीय कवीन्द्र धिमाल पानी परेको बेलामा त पैदल हिँड्नसमेत कठिन हुने बताउँछन् । उनी यस्तो साँघुरो बाटोको बिचमा मिसगिटी स्टक गर्ने निर्णय नै गलत भएको बिचार व्यक्त गर्छन् ।

उनी भन्छन् ‘यस्तो साँघुरो जग्गामा मिसगिटी भण्डारन गर्ने निर्णय नै गलत थियो । सुरुमा हामीले थाहै पाएनौँ, पछि थाहा पाए पछि उक्त जग्गामा मिसगिटी स्टक नगर्न अनुरोध गर्जौँ तर हाम्रो अनुरोधलाई नकार्ने काम भयो ।’

आफूले यो समस्याको बारेमा धेरैतिर अवगत गराए पनि कतैबाट पनि सुनुवाइ नभएकोमा भने उनको गुनासो रहेको छ ।

विशेष गरेर आइमाई केटाकेटीले ठूलो समस्या व्यहोर्नु परेको स्थानीय कल्पना धिमाल बताउँछिन् । कोरोनाका कारणले यतिखेर विद्यालय बन्द रहेको, यदि यही समयमा विद्यालय खुल्ने हो भने झनै समस्या हुने उनको मत रहेको छ ।  

स्थानीय रमेश कोइराला आफूहरू स्टक रहेको मिसगिटी लैजान रोक्नु पर्छ भन्नेमा नरहेको, स्टक भएको सामग्री उठाउन पाउनु पर्छ भन्नेमा रहेको, तर कुनै पनि बहानामा बाटो बिगार्न भने पाइँदैन भन्ने आफूहरूको अडान रहेको बताउँछन् । उनी भन्छन् –हामीले स्टक रहेको नदीजन्य सामग्री लान हुन्न भनेका छैनौँ । उहाँहरूको लगानी भएको छ, आफ्नो सामग्री लान पाउनु पर्छ । तर यो सामग्री लैजाँदै गर्दा बाटो बिगार्न भने पाइँदैन ।’ साथै उनी यो स्टक सकिए पछि भने पुन : यो स्थानमा मिसगिटी भण्डारण गर्न नहुने बिचार राख्छन् । 

स्थानीय रघुनाथ केशर अधिकारी सुरुमा सम्झौता भए अनुसार काम नभएको बताउँछन् । बाटो साँघुरो रहेको, झन् त्यसमा ठूला ठूला ट्रिफर चलाइदिँदा बालबालिका तथा केटाकेटीलाई जोगाउनै गाह्रो भएको उनको मत रहेको छ । उनी भन्छन् ‘बाटो बनाइदिएको पनि हो, भत्किएको ठाउँमा अलिअलि मिसगिटी हाल्दै ट्रिफर लाने गरेको देखिएको छ तर पानी परेको बेलामा ट्रिफर चलाइदिँदा त्यो हालिएको मिसगिटी बालुवामा पानी सरह भएको छ ।’ 

ड्रेनविनाको बाटो भएका कारणले पनि यो समस्या निम्तिएको स्थानीय गणेश श्रेष्ठ बताउँछन् । बाटोमा ड्रेन नहुँदा पानी पर्नसाथ बाटोमा पानी पस्ने गरेको, झन् ग्रेडरले बाटोको डिलको माटो काटिदिए पछि त सानो पानी आउँदासमेत बाटोमा पस्न थालेको श्रेष्ठ बताउँछन् । बाटोमा ड्रेन नहुँदा पनि यो समस्या आएको उनको बुझाई रहेको छ । 

यी सबै कुरामा टोलविकासमा रहेका पदाधिकारीको भूमिका माथि पनि स्थानीयले प्रश्न उठाउने गरेका छन् । यस्ता कुरालाई टोल विकासले कडाइकासाथ लिनु पर्नेमा त्यसो नगरेको उनीहरूको जिकिर रहेको छ । 

प्रतिक्रिया दिनुहोस्