रिभाईभ लिजरपार्क राष्ट्रिय ब्याडमिन्टन हुने


काठमाडौँ, १३ भाद्र । रिभाईभ लिजरपार्कको स्थापनाको उपलक्षमा ‘‘प्रथम रिभाईभ लिजरपार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०७८’’ आयोजना हुने भएको छ । कोभिडबाट प्रभावित खेललाई यस प्रतियोगिताले केही रिफ्रेस बनाउने छ ।

असोज १ देखि ५ गते सम्म आयोजना हुने च्याम्पियनसिपमा पुरुष एकल र युगल, महिला एकल, भेटरान्स युगल गरी ४ विधामा खुल्ला प्रतिस्पर्धा गराइने छ । च्याम्पियनसिपमा राष्ट्रिय खेलाडीहरू, प्रदेश र जिल्ला, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी तीन विभागीय टिम, विभिन्न सङ्घ संस्था, क्लब, नेपालमा बसोबास गर्दै आइरहेका विदेशी खेलाडीहरूलाई पनि सहभागिता गराइने छ । च्याम्पियनसिपमा ३०० बढी खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएका छन् ।

करिब १७ लाख अनुमानित बजेट रहेको च्याम्पियनसिपमा विजयी खेलाडी तथा टिमलाई नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । नगद पुरस्कारका विषयमा जति सक्दो बृद्धि गरिने भएका कारण अहिलेनै पुरस्कारको राशी नतोकिएको आयोजकले जनाएको छ ।सोही क्रममा नेपालका लागि अन्तर्राष्ट्रिय पदक प्राप्त गर्न सफल खेलाडीहरूलाई नगद पुरस्कार सहित सम्मान गर्ने कार्यक्रम समेत रहेको छ ।आयोजकको लगनखेलस्थित आफ्नै कभर्डहलमा आयोजना हुने च्याम्पियनसिपका दौरान कोभिड १९ को उच्च संक्रमणलाई ध्यानमा राखी सम्पूर्ण सरकारी मापदण्डलाई पालाना गर्दै खेलाडी, प्रशिक्षक, निर्णायक, अफिसियल र अत्यावश्यक व्यक्तिहरूलाई मात्र हलमा प्रवेशको व्यवस्था गरिने छ ।

‘‘हाम्रो उद्देश्य भनेको केवल नाफा कमाउनु मात्र नभई नेपालीहरूलाई शारीरिक, मानसिक रूपमा स्वस्थ राख्नु तथा नेपाली खेलकुद क्षेत्रलाई उकास्न विभिन्न राष्ट्रिय स्तरका प्रतियोगिताहरू आयोजना तथा बालबालिकाहरूलाई उच्च स्तरको प्रशिक्षणको व्यवस्था गरी नेपाललाई अन्तर्राष्ट्रिय पदक दिलाउने खेलाडीहरू उत्पादन गर्नु र निजी क्षेत्रबाट नेपाल सरकारको खेलकुद विकासको अभियानलाई सहयोग पु¥याउने उद्देश्य रहेको हो’ अध्यक्ष शुक्र पाख्रिनले बताए ।

करिब १८ करोड लगानी रहेको रिभाईभ लिजर पार्क हेल्थ क्लबको कम्पाउण्ड भित्र ब्याडमिन्टन हल, जोडो, कराते, उसु हल, स्विमिङ्गपुल, जिम, जुम्बा हल, साउना स्टिम, मसाज थेरापी, सैलुन पार्लर लगायत बि.एण्ड बि. रुम, सेमिनार, पार्टिहल सहित रेस्टुरेण्ट समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्