सप्तकोसी नदीमा वर्षकै उच्च बहाव देखिए पनि स्थानीय त्रसित


सप्तरी, १४ भाद्र । केही दिनदेखि निरन्तर परिरहेको वर्षाले नदीका बहाव यस वर्षकै उच्च विन्दुमा पुगेका छन् । पानीको बहाव बढ्दै जाँदा बाढी पहिरो तथा डुबानका समस्याबाट स्थानीयहरू पीडित हुँदै आएका छन् ।

कोसी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार पछिल्लो पटक भाद्र  १३ गते अपराह्न ५ बजे मापन गर्दा सप्तकोसीमा २ लाख ७४ हजार ५ क्यूसेक प्रतिसेकेण्ड बहाव पुगेको छ । सप्तकोसी नदीमा पानीको बहाव बढेसँगै कोसी ब्यारेजका ५६ मध्ये ३७ वटा ढोका खोलिएका छन् ।सप्तकोसीमा पानीको बहाव उच्च भएपछि सप्तरी, सुनसरी र उदयपुरका स्थानीयहरू त्रसित बनेका हुन् । 

कोसीको बहाव बढ्दै गएपछि सुनसरीको चतरा, श्रीलङ्का टापु क्षेत्र र उदयपुरको बेलका नगरपालिकाका  तीव्र रूपमा कटान सुरु भएको छ । कटानसँगै कोसीले धार परिवर्तन गरी नदी बस्तीमा पस्ने भन्दै बेलका नगरपालिकाले स्थानीय जनतालाई सजक रहन सूचना गरिसकेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले टापु क्षेत्रका केही स्थानमा नदीले पुनः कटान गरेको बताए । 

कटान रोक्नलाई कतिपय स्थानमा तटबन्धको कामसमेत भइरहेको छ । पानीको बहाव अत्याधिक भएकोले क्षति ठूलो हुने आंकलन गर्दै स्थानीय प्रशासनले सर्वसाधारणलाई सजग रहन अनुरोध गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्