विभाजनको पक्षमा नलाग्न जनप्रतिनिधिहरूलाई एमाले अध्यक्ष ओलीको निर्देशन


काठमाडौँ, १४ भाद्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभाजनमा नलाग्न पार्टीका नेता, कार्यकर्ता तथा जनप्रतिनिधिलाई निर्देशन दिएका छन् । पार्टी विभाजन भएर माधव नेपालको अध्यक्षतामा नेकपा एकीकृत समाजवादी नामको नयाँ दल गठन भई त्यसले कानुनी मान्यतासमेत पाइसकेको र निर्वाचन आयोगले नयाँ दलमा जाने प्रदेश सांसद तथा स्थानीय जनप्रतिनिधिहरुले भाद्र २२ गते सम्ममा निर्वाचन आयोगको कार्यालयमा आएर सनाखत गर्नु पर्ने बताइरहँदा पार्टी अध्यक्ष ओलीको यस्तो निर्देशन आएको हो । 

अन्तरपार्टी निर्देशन जारी गर्दै पार्टी अध्यक्ष ओलीले पार्टीभित्रका केही स्वार्थी र विभाजनकारी व्यक्तिहरूका क्रियाकलाप तथा पार्टी बाहिरका विभिन्न शक्ति–तत्त्वहरूको षडयन्त्रका कारण पार्टीले असहज स्थितिको सामना गर्नु परेकाले बताएका छन् । गत भदौ ८ गतेको स्थायी समिति र १० गते बसेको केन्द्रीय कमिटी बैठकले पार्टीलाई नयाँ ढङ्गबाट लैजाने निर्णय गरेकोसमेत उल्लेख गर्दै पार्टीका नेता, कार्यकर्ता तथा जनप्रतिनिधिहरूलाई पार्टी छाडेर नयाँ दलमा नजान निर्देशन दिएका छन् । 

ओलीद्वारा जारी निर्देशनमा भनिएको छ ‘पार्टी विभाजनले मुलुकको कम्युनिस्ट आन्दोलन, लोकतान्त्रिक प्रणाली, संवैधानिक सुव्यवस्था र जनताको सर्वोच्चता माथि चुनौती खडा गरेको छ । पार्टीले यस परिस्थितिको संवैधानिक, लोकतान्त्रिक र जनपरिचालनका विधिबाट सामना गर्ने अठोट गरेको छ ।’

निर्देशनमा पार्टीको आन्तरिक एकतालाई सबल बनाउन, विगतका आरोह–अवरोहबाट गम्भीर शिक्षा लिन र आसन्न चुनौतीलाई सामना गर्न पार्टीलाई वैचारिक, राजनीतिक, सङ्गठनात्मक र भावनात्मक रूपमा तम्तयार राख्न सबै कमरेडहरूलाई सक्रिय योगदान गर्न निर्देशित गरिन्छ भनिएको छ । सर्कुलरमा सत्तापक्षीय गठबन्धनलाई स्वार्थहरूको गठजोड एवं ईश्र्या, कुण्ठा र प्रतिशोधको भावनाको उपज भनिएको छ । 

प्रतिक्रिया दिनुहोस्