दार्चुला घटनामा भारतीय सीमा सुरक्षा वलका जवानको संलग्नता रहेको छानबिन समितिको निष्कर्ष


काठमाडौं, १६ भाद्र । दार्चुला घटनामा छानबिन समितिले भारतीय एसएसबीका जवानको संलग्नता रहेको निष्कर्ष निकालेको छ । समितिले लामो समयको छानबिन पछि मङ्गलवार घटनाबारे बुझाएको आफ्नो प्रतिवेदनमा उक्त घटना भारतीय सीमा सुरक्षा वल (एसएसबी)कै उपस्थितिमा घटेको देखिएकाले निष्कर्ष निकालेको हो । 

दार्चुलाको ब्याँस गाउँपालिका २ खाङदाङका जयसिंह धामी सोही गाउँपालिकास्थित मालघाटबाट तुइनको प्रयोग गरी भारत हुँदै सदरमुकाम खलङ्गा आउने क्रममा महाकालीमा बेपत्ता भएका थिए । तुइनको तारसँगै महाकाली नदीमा बगी बेपत्ता भएका उनी अझै फेला परेका छैनन् ।उक्त घटना छानबिनका लागि गृह मन्त्रालयले श्रावण १७ गते ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । 

समितिले उक्त घटनामा बेपत्ता जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन र भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गरी दोषी देखिएको सीमा सुरक्षा बलका जवानलाई कानुनी कारबाहीको लागि पहल गर्न सिफारिससमेत गरेको छ ।

उता भारतीय पक्षले भने उक्त घटनामा आफ्ना जवानको संलग्नता नभाको बताउँदै आएको छ ।  

प्रतिक्रिया दिनुहोस्