मुसलमान समुदायकी जेवा बनिन् डाक्टर, एमडीसम्म पढ्ने लक्ष्य


सप्तरी, १६ भाद्र । अभिभावकले ध्यान दिएर हौसला दिए छोरीले पनि केही गर्न सक्छिन् भन्ने ज्वलन्त उदाहरण बनेकी छन् सप्तरीकी जेवा खातुन । सानै उमेरमा विवाह गरेर घरजम बसाउने मुस्लिम समुदायकी खातुन चिकित्सा क्षेत्रमा प्रवेश गरेकी छिन् ।


पिछडिएको वर्गका रूपमा रहेको मुस्लिम समुदायका महिला अन्य महिलाभन्दा धेरै पछाडि छन् । अभिभावकले पढाइभन्दा सानै उमेरमा विवाह गरिदिने भएका कारण उनीहरू अगाडि बढ्न सक्दैनन् । तर अभिभावकले सहयोग गरेमा यो समुदायका महिलाले पनि केही गर्न सक्ने प्रमाण बनेकी छिन् खातुन । उनले हालै एमबिबिएस उत्तीर्ण गरेकी छिन् । जिल्लाको खड्क नगरपालिका–८ कल्याणपुर निवासी फिरोज खान र यास्मिन सुल्तानको पहिलो सन्तानका रूपमा जन्मिएकी खातुनले ललितपुरको लगनखेलमा रहेको पाटन अस्पतालबाट एमबिबिएस उत्तीर्ण गरेकी हुन् ।


एमबिबिएस उत्तीर्ण गर्नुको श्रेय भने उनी आफ्ना आमा बुवालाई दिन्छिन् । ‘शायद उहाँहरूले नपढाउनु भएको भए आज चिकित्सक बन्ने थिइनँ’, उनी भन्छिन्, ‘बल्ल मेरो सपना पूरा भएको छ ।’ आफूलाई चिकित्सक बन्न सानैदेखि इच्छा रहेको र त्यो पूरा भएपछि साह्रै खुसी लागेको खातुन बताउँछिन् । नर्सरी कक्षामै पढ्दाखेरि सेतो कोट लगाउने को हुन् भन्ने जिज्ञासा राख्दा अभिभावकले डाक्टर भएको र उसैले बिरामीको उपचार गर्छन् भन्ने कुरा बताएपछि त्यही कुरा आफ्नो दिमागमा खेलिरहेको उनी बताउँछिन् । त्यो कुरा दिमागमा बसिरह्यो र डाक्टर बन्ने सपनाका साथ पढाइलाई निरन्तर अगाडि बढाउँदै लग्ने बताइन् खातुनले ।

उनले विसं २०६९ मा गौरी सेकेण्डरी स्कुल जनकपुरबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरिन् भने विराटनगरबाट उच्च मावि उत्तीर्ण भए लगत्तै उनले मेडिकल प्रवेश परीक्षाका लागि तयारी थालिन् । परीक्षा त दिइन् तर पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सकिनन् । उनी भन्छिन्, ‘तैपनि आमा बुवाले पुरै रकम तिरेर मलाई पढाउनु भयो ।’


एमबिबिएस उत्तीर्ण गरेपछि उनी अहिले पाटन अस्पतालमै इन्टर्नसिप गरिरहेकी छिन् । उनका बुवा कल्याणपुर बजारका व्यवसायी छन् भने आमा खड्क नगरपालिकाका उपप्रमुख छिन् । आमा बुवाले सधैँ आफूलाई प्रोत्साहन दिँदै सहयोग गर्दै आएकै कारण आज आफूले एमबिबिएस उत्तीर्ण गरेको उनी बताउँछिन् ।

इन्टर्नसिप सकाएपछि पहिलो सेवा जिल्लामै दिने उनले सोच बनाएकी छिन् । ‘जिल्लामै आएर स्वास्थ्य सेवा दिने र छोरीलाई पनि पढाउनुपर्ने चेतना जगाउने काम गर्छु’, उनले भनिन् । एमबिबिएस उत्तीर्ण गरेर काम गर्दै एमडीसम्म पढ्ने लक्ष्य उनले राखेकी छिन् । छोरी पनि कुनै कुरामा कमजोर हुँदैनन् भन्दै उनी हरेक छोरीलाई पढाउनुपर्ने बताउँछिन् ।


‘हरेक छोरीमा कुनै न कुनै गुण हुन्छ, प्रतिभा हुन्छ’, उनी भन्छिन्, ‘तर सानै उमेरमा विवाह गरिदिएपछि ती प्रतिभा प्रस्फुटित हुन पाउँदैन । उनीहरूको सपना तुहिन्छ ।’ प्रत्येक अभिभावकले आफ्नो छोरीलाई शिक्षा दिए देश परिवर्तन हुन समय नलाग्ने र महिला पनि जागरूक बन्दै जाने उनको विश्वास छ ।
जेवाका आमाबुवाले आफ्ना सबै सन्तानलाई पढाइरहेका छन् । जेवाकी माहिली बहिनीले पनि मेडिकलकै तयारी गरिरहेकी छिन् । तीन दिदी बहिनी र दुई दाजुभाइको परिवारमा सबै पढिरहेको उनी बताउँछिन् ।


‘म चाहन्छु हरेक अभिभावकले आफ्ना छोरीलाई पढाउन् र विश्वास गरुन्’, उनी भन्छिन्, ‘आज मेरो अभिभावकले ममाथि विश्वास नगरेको भए म अगाडि नै बढ्ने थिइनँ, मधेशभित्रको मुस्लिम महिलाको अवस्था त अझै कमजोर छ । विद्यालय जान नपाइने, घरधन्दामै व्यस्त रहनुपर्ने, बाहिर निस्किँदा बुर्का लगाउनुपर्ने क्रम केही घटे पनि मधेसमा तुलनात्मक रूपमा मुस्लिम महिला सामाजिक रूपमा पछाडि नै छन् । अरूले पनि यो कुरा बुझ्नुपर्छ र, छोरीलाई पढाउनु पर्छ ।’


मुस्लिम समुदायबाट जेवाले एमबिबिएस उत्तीर्ण गरेपछि उनका छरछिमेक पनि खुसी छन् । छिमेकी अनवर अलीले यो सफलता उनको मात्र नभई मुस्लिम समुदायकै पनि भएको बताउँछन् । ‘जेवा जस्तै सबै महिलाले मेहनत गर्नुपर्छ र अभिभावकले पनि त्यसमा साथ दिनुपर्छ’, उनी भन्छन्, ‘यसो गर्न सकिए समाज चाँडो परिवर्तन हुन्छ ।’ (नयाँ पेजबाट)

प्रतिक्रिया दिनुहोस्