भारतसँग कूटनीतिक पहल गर्न गृहको परराष्ट्रलाई पत्र


काठमाडौँ, १७ भाद्र । छानबिन समितिले दार्चुला घटनामा भारतीय एसएसपीका जवानको संलग्नता रहेको निष्कर्ष निकालेको भोलिपल्टै गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई भारतसँग कूटनैतिक पहल सुरु गर्न सिफारिस गरेको छ । गृह मन्त्रालयले आज (बिहिवार) परराष्ट्र मन्त्रालयलाई पत्र पठाउँदै घटनाको अनुसन्धान र पीडित परिवारलाई उचित क्षतिपूर्ति भराउने गरी भारतसँग कूटनीतिक पहल गर्न भनेको हो । 

दार्चुला घटनाको विषयको अध्ययन गर्न गठित छानविन समितिले भारतीय एसएसपीका जवानको संलग्नता रहेको निष्कर्ष निकालेको थियो । समितिले लामो समयको छानबिन पछि मङ्गलवार मात्रै घटनाबारे आफ्नो प्रतिवेदन बुझाएको थियो । 

दार्चुलाको ब्यास गाउँपालिका २ खाङदाङका जयसिंह धामी सोही गाउँपालिकास्थित मालघाटबाट तुइनको प्रयोग गरी भारत हुँदै सदरमुकाम खलङ्गा आउने क्रममा महाकालीमा बेपत्ता भएका थिए । तुइनको तारसँगै महाकाली नदीमा बगी बेपत्ता भएका उनी अझै फेला परेका छैनन् ।

समितिले उक्त घटनामा बेपत्ता जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन र भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गरी दोषी देखिएको सीमा सुरक्षा बलका जवानलाई कानुनी कारबाहीको लागि पहल गर्न सिफारिससमेत गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्