फुटको सङ्घारमा विवेकशील साझा : समानान्तर गतिविधि नरोके पाण्डे पक्षलाई कारबाही गर्ने मिश्र पक्षको निर्णय


काठमाडौँ, १८ भाद्र । विवेकशील साझा पार्टी फुटको सङ्घरमा पुगेको छ । अध्यक्ष रवीन्द्र मिश्रको राजनैतिक प्रस्तावप्रति विमति राख्दै पार्टी संयोजक मिलन पाण्डेले आफू निकट केन्द्रीय समितिको बैठक डाके पछि पार्टी विभाजनको बाटोमा जाने सम्भावना बढेको हो ।

बिहीवार अध्यक्ष रवीन्द्र मिश्रको अध्यक्षतामा केन्द्रीय समितिको बैठक बसिरहँदा उता संयोजक पाण्डेको संयोजकत्वमा पनि बैठक बसिरहेको थियो । मिश्रको बैठकमा १३० जना कूल केन्द्रीय सदस्यमध्ये १०३ जनाको सहभागिता थियो भने उता पाण्डेले बोलाएको बैठकमा ४१ जना सदस्यहरू मात्र सहभागी थिए ।

अध्यक्ष रवीन्द्र मिश्रले सङ्घीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमत सङ्ग्रह गर्नुपर्ने राजनीतिक प्रस्ताव सार्वजनिक गरेपछि यो पार्टी दुई समूहमा विभाजन भएको छ ।  यता पार्टीको केन्द्रीय समितिको बैठकले अवैध र समानान्तर गतिविधि सञ्चालन गर्दै पार्टी हित विपरीतका क्रियाकलापमा संलग्न पाण्डे समूहलाई त्यस्ता गतिविधि तत्काल रोक्न यति नरोके कारबाही गर्ने बताएको छ । 

नेपाली राजनीतिमा पार्टी फुट्ने र नयाँ पार्टी बनिने प्रक्रिया नौलो भने होइन । लामो समयदेखि विवेकशील साझा पार्टी पनि त्यही समस्याबाट जुझ्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्