समुद्री आँधी पछिको बाढीमा परी न्युयोर्कमा डेढ वर्षे बालकसहित तीन नेपालीको मृत्यु


काठमाडौँ, १८ भाद्र । अमेरिकाको न्युयोर्कमा समुद्री आँधी पछि आएको बाढीमा परेर डेढ वर्षे बालकसहित एकै परिवारका तीन जना नेपालीको मृत्यु भएको छ । समुद्री आँधी हुर्केन पछि आएको बाढीमा परेर न्यु योर्क क्विन्स सहरमा एकै परिवारका तीन जना नेपालीको मृत्यु भएको न्युयोर्क पोष्टले बताएको छ ।

मृत्यु हुनेमा वर्षीय आङ गेलु शेर्पा, उनकी ४८ वर्षीय पत्नी मिङमा शेर्पा र उनीहरूका १९ महिने बालक लोबसाङ लामा रहेका छन् । पानी आएसँगै आफ्नै अपार्टमेन्टमा छिरेका उनीहरू त्यही थुनिएका थिए । बाहिर निस्कन नपाई मृत्यु भएको उनीहरूका छिमेकीले बताएका छन् ।

छिमेकी डेबोराह टोरेसले भनिन्, ‘उहाँहरू बाहिर निस्किनु असम्भव जस्तै थियो किनकि बाढी मेरो घुँडासम्म आइपुगेको थियो जबकि म दोस्रो तलामा थिएँ । अब तल्लो तलामा के भयो होला, तपाईँ आफैँ सोच्न सक्नुहुन्छ ।’आफ्नो अपार्टमेन्टमा पानी आएसँगै उनीहरूले घरमालिकलाई सहयोगका लागि आग्रह गरेका थिए । तर सहयोग गर्न खोज्दै गर्दा उनीहरूको अपार्टमेन्ट पुरै पानीले भरिइसकेको थियो । दिउसो साढे तीन बजेतिर उद्धारकर्ताले उनीहरूको शव बाहिर निकालेका थिए । 

मृतक लामा परिवार सोलुखुम्बुको दूधकुण्ड नगरपालिका–२ जुनवेशीका रहेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्