गृहमन्त्री खाँणद्वारा कोसीको कटान क्षेत्रको निरीक्षण


दीर्घकालीन तटबन्धको व्यवस्था गर्न स्थानीयको आग्रह

उदयपुर, २० भाद्र । गृहमन्त्री खाँणले सप्तकोसी नदीले साता दिनअघिदेखि गरेको कटान क्षेत्रको अवस्थाबारे स्थलगत निरीक्षण गरेका छन् । गृहमन्त्री बालकृष्ण खाँण शनिवार दिउँसो उदयपुर पुगेर कोसी कटान क्षेत्रमा निरीक्षण गरेका हुन् । 

सुनसरी र उदयपुरको सीमा भएर बग्ने सप्तकोसीमा आएको बाढीले गत आइतबार जमिन फुटाएर पसेको भँगालाले उदयपुरका बेलका नगरपालिकामा ठूलो क्षति पुर्‍याएको थियो । मन्त्री खाँणका साथमा गृहसविच, सिँचाइ विभागका महानिर्देशक, प्राविधिक इन्जिनियरलगायत सरोकारवाला निकायका प्रमुखहरू कटान क्षेत्रमा पुगेका थिए ।

मन्त्री खाँणलाई स्थानीयले कोसी टप्पु आसपास बसोबास गरिरहेका झण्डै ३ सय घरधुरी स्थानीयलाई बाढीले विस्थापित गर्ने खतरा बढेको भन्दै ध्यानाकर्षण गराएका थिए ।

नेपाली सेनाको ९ एन ०५३ नं. को हेलिकोप्टर चढेर त्यहाँ पुगेका गृहमन्त्री खाँणले घटनास्थलको निरीक्षणपछि उदयपुर, सप्तरी र सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि तथा अन्य सुरक्षा अधिकारी र स्थानीय बासीसँग सामूहिक छलफल गरेका थिए । छलफलमा स्थानीयले मन्त्री खाँणसँग वर्षेनी आउने बाढीबाट बच्न दीर्घकालीन तटबन्ध बाँध्नुपर्ने माग गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्