“२०७५ जेष्ठ २ फेरी जस्ताको त्यस्तै आउन सक्दैन, भ्रममा नपर्नु होला” : महासचिव पोखरेल


सुन्दरहरैचा, २० भदौ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले जस्ताको त्यस्तै १० बुँदे सहमतिको कार्यान्वयन नहुने र जस्ताको त्यस्तै जेष्ठ २ गतेमा नफर्कने बताएका छन् ।

सुन्दरहरैचामा नेकपा एमाले मोरङले आइतबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै १० बुँदे सहमति र २०७५ जेष्ठ २ गतेमा फर्कँदा यान्त्रिक ढङ्गको नहुने बताएका हुन । कार्यान्वयन सृजनात्मक ढङ्गले हुने पोखरेलले बताएका छन् ।

पोखरेलले भने ‘१० बुँदे सहमति भनेको पार्टी केन्द्रलाई दिएको सुझाव हो । केपी ओली र माधव नेपालको सहमतिमा बनेको १० सदस्य कार्यदल हो । त्यो कार्यदलले सुझाव दियो । त्यो सुझाव निर्णय हैन । पार्टी केन्द्रले कार्यान्वयन गरी रहँदा यान्त्रिक ढङ्गले कार्यान्वयन हुन सक्दैन । कार्यान्वयन सृजनात्मक ढङ्गले हुन्छ । रचनात्मक ढङ्गले लागु हुन्छ ।’

कानुनी रूपमा २०७७ फागुन २३ गते सर्वोच्च अदालतको फैसला अनुसार पूर्व अवस्थामा एमाले फर्किएको हो । कानुनी रूपमा जेष्ठ २ मा पुगे पनि यसलाई यान्त्रिक ढङ्गले नबुझ्न पोखरेलले आग्रह गरेका छन् । उनले कोही पनि भ्रममा नपर्न समेत बताए ।

पार्टीको पक्षमा रहने, क्रियाशील हुने सबैलाई जिम्मेवारी प्रदान गर्ने पोखरेलले बताएका छन् । पोखरेलले भने, ‘यान्त्रिक ढङ्गले १० बुँदे कुरा, यान्त्रिक ढङ्गले जेष्ठ २ को कुरा हामीले ग¥यौ भने व्यवहारिक जीवनमा त्यसले अप्ठ्यारो पार्न सक्छ । यो कुरामा सजक हुनु होला । पार्टीको पक्षमा रहेका, क्रियाशील हुन कोही पनि साथीहरू जिम्मेवार विहीन रहने छैन । सबै साथीहरूलाई जिम्मेवारी दिनु पर्छ ।’


एकता विभाजनको प्रमुख कारण प्रचण्ड र माधव

एकता विभाजनको प्रमुख कारण पुष्प कमल दाहाल (प्रचण्ड) र माधव नेपालाई भएको पोखरेलले बताए ।प्रचण्डको सांगठानिक अराजकताको नेतृत्व र माधवको गुठ बन्दीको कारण विभाजन भएको आरोप लगाएका छन् ।

पोखरेलले भने, ‘एमाले भित्रको विग्रह दुइटा कारण हो । एउटा पार्टी एकता गर्दा नेकपा माओवादी केन्द्र र एमाले बिच जे समस्या रहेको थियो, त्यो विकसित भएको हो । माओवादी केन्द्र भित्र सांगठानिक अराजकता थियो । त्यो सांगठानात्मक अराजकताको नेतृत्व पुष्पकमल दाहाले गर्नु भएको थियो । जसले ३०, ३५ वर्ष सम्म कहिले पार्टी भित्र प्रतिस्पर्धा गर्नु परेन । पार्टी भित्रको अन्तर विरोधमा खेल्दै, अन्तर विरोधहरूलाई उपयोग गर्दै ढाडमा टेक्दै टाउकोमा हान्दै पुष्पकमल दाहालको राजनीति अगाडी बढ्यो । यता एमाले भित्र गुठ बन्दीको प्रतिनिधि र प्रवक्ता माधव नेपाल बन्नु भो । माधव नेपालको अगुवाइमा यस बिचमा जे जति कुरा भएका छन् । अत्यन्त घृणा योग्य अक्षम्य अपराधहरू भएको छ । ती चिजहरूलाई अहिले पनि क्षमा गर्न सक्दैनौ ।’


एमालेको महाधिवेशन मङ्सिरमा

नेकपा एमालेको महाधिवेशन मङ्सिरमा हुने भएको छ । २०७९ साल वैशाख १० गते भित्र एमालेले महाधिवेशन गरिसक्नु पर्ने कानुनी सीमा रहेको छ । तर एमालेको महाधिवेशन मङ्सिरमै हुने महासचिव पोखरेलले जनाएका छन् ।

पोखरेलका अनुसार स्थानीय तहको चुनावको कारण एमालेले महाधिवेशन चाँडो गर्ने भएको हो । ‘२०७९ साल वैशाख १० गते भित्र एमालेले महाधिवेशन गरिसक्नु पर्छ । यो कानुनी सीमा हो । फागुन देखी स्थानीय तहको निर्वाचन हुन्छ । त्यस अवस्थामा हामीले महाधिवेशन गर्न भ्याउँदैन । त्यस कारण हामीले मङ्सिरमै गर्नु परेको हो, पोखरेलले भने ।’

‘एमसिसि’ स्विकार्ने एउटै सर्त

एउटा सर्त पुरा भए मात्र ‘एमसिसि’ स्विकार्ने पोखरेलले बताएका छन् । राष्ट्रिय हितमा भए मात्र ‘एमसिसि’ स्विकार्ने उनले बताएका हुन । तर राष्ट्रिय हित विपरीत भए एमालेबाट ‘एमसिसि’ स्वीकार नहुने पोखरेलले बताएका छन् ।

उनले भने, ‘एमसिसि’ राष्ट्रिय हित विपरीत छ भने स्वीकार गर्दैनौ । हाम्रो देशमा मन्जुरी हुँदैन । तर राष्ट्रिय हित हुन्छ भने हामी गर्छौ । चिन्ता लिनु पर्दैन ।’

प्रतिक्रिया दिनुहोस्