बेलबारी बोयर बाख्रा सम्बन्धी प्रतिवेदन सोमवार सार्वजनिक हुँदै


बेलबारी, २१ भाद्र । बेलबारीको बोयर बाख्रा प्रकरणको विषयमा तयार पारिएको प्रतिवेदन सार्वजनिक आज (सोमवार) हुने भएको छ । छानबिन समितिले तयार पारेर १५ दिन अघि नै नगरपालिकालाई बुझाएको प्रतिवेदन आज सार्वजनिक हुने भएको हो । 

प्रतिवेदन आइतवार सार्वजनिक गर्ने कार्यक्रम तय भए पनि तयारी नपुगेको भन्दै अन्तिम समयमा आएर कार्यक्रम सारिएको थियो ।   प्रतिवेदन सार्वजनिक गर्ने भनेर पत्रकार, राजैनितक पार्टीका प्रतिनिधि तथा छानबिन समितिका सदस्यहरूलाई आइतबार दिउँसो २ बजेका लागि बोलाइएको थियो । सबै जना निर्धारित समयमै नगरपालिका पुगे पनि अन्तिम समयमा आएर तयारी नपुगेको भन्दै सोमवारलाई सारिएको नगरपालिकाले जनाएको छ । 

प्रतिवेदनमा सार्वजनिक हुन ढिलाइ भएकोमा राजनैतिक पार्टी तथा छानबिन समितिका सदस्यहरू नै चिन्तित बन्न पुगेका छन् । निर्धारित समयमा प्रतिवेदन सार्वजनिक नभए पछि उनीहरूले चिन्ता व्यक्त गरेका छन् । समयमा निर्णय दिनेकार्यमा नगरपालिका सर्धैँ चुक्दै आएको छानबिन समितिका एक जना सदस्यले दुखेसो व्यक्त गरे । 

समय नपुगेको भनेर कार्यक्रम सोमबारलाई सारिएको भनिए पनि प्रतिवेदनको सारांश वाचन गर्ने वा पुरै सार्वजनिक गर्ने भन्ने बारेमा सहमति हुन नसक्दा प्रतिवेदन निर्धारित समयमा सार्वजनिक गर्न नसकिएको श्रोतले जनाएको छ ।  तर बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले भने तयारीका लागि केही काम बाँकी रहेकोले सोमवार ११ बजेका लागि सार्नु परेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्