बोयर बाख्रा प्रकरणको प्रतिवेदन सार्वजनिक : छानबिन समिति र पार्टी प्रतिनिधिनै असन्तुष्ट


बेलबारी, २१ सोमबार । बेलबारी नगरपालिकाकाको बोयर बाख्रा प्रकरणको प्रतिवेदनले पार्टी प्रतिनिधि तथा छानबिन समिति नै असन्तुष्ट भएका छन् । बोयर बाख्रा प्रकरणको छानबिन समितिले तयार गरेको प्रतिवेदन जस्ताको त्यस्तै सार्वजनिक नहुँदा छानबिन समिति र पार्टी प्रतिनिधिहरू असन्तुष्ट भएका हुन ।

छानबिन समितिले २ महिना लगाएर १५ दिन अघि नगरपालिकालाई प्रतिवेदन बुझाएको थियो । बेलबारी नगरपालिकाले आइतबार सार्वजनिक गर्न तयार गरेको प्रतिवेदन छानबिन समितिसँग सहमति नजुट्दा कार्यक्रमै रोकिएको थियो । पुनः सोमबार प्रतिवेदन सार्वजनिक कार्यक्रममा पनि छानबिन समिति र पार्टी प्रतिनिधि असन्तुष्टै देखिए । 

१६० पाना, १५ दफा र ४५ अनुसूचीमा तयार पारिएको प्रतिवेदनलाई ५ पेजभित्र ११ बुँदामा छोटाएर नगर कार्यपालिकाको ७५ औँ बैठकबाट अनुमोदन गरी बेलबारी नगरपालिकाले सार्वजनिक गरेको प्रतिवेदनमा ११ बुँदे निष्कर्ष र १५ बुँदे सुझाव रहेको छ ।  सार्वजनिक खरिद ऐनको प्रयोगमा कमजोर रहेको उल्लेख गर्दै प्रतिवेदनमा नगरपालिकालाई १५ बुँदे सुझाव दिएको छ । 

छानबिन समितिले तयार गरेको प्रतिवेदन जस्ताको त्यस्तै सार्वजनिक नभएको कारण छानबिन समितिका ३ सदस्यले कार्यक्रमै बहिष्कार गरे । छानबिन समितिका सदस्य राजेन्द्र अधिकारी, केशव थापा मगर र किशोर भण्डारीले बहिष्कार गरेका हुन । कोरोनाको महामारी जस्तो विषम परिस्थितिमा पनि स्वास्थ्य जोखिममा राखेर २ महिनाको मेहनतबाट तयार गरेको प्रतिवेदन सही ढङ्गले नगरपालिकाद्वारा सार्वजनिक नहुँदा वास्तविक सत्य बेलबारीवासीलाई थाहा नहुने भएकोले सार्वजनिक कार्यक्रम बहिष्कार गरेको छानबिन समितिका ३ सदस्यले बताएका छन् ।

संयोजक बिन्दुकला गुरुङले छानबिन समितिले तयार गरेको प्रतिवेदनै जस्ताको त्यस्तै सार्वजनिक गर्नु पर्ने माग राखेकी छिन । उनी नगर कार्यपालिकाका सदस्य पनि हुन । गुरुङले कार्यपालिकाको बैठकमा पनि प्रस्ताव राख्ने बताएकी छिन । यदि नगरे आफै सार्वजनिक गर्ने छानबिन समितिले जनाएको छ । पूर्ण सर्वसम्मतमा ल्याएको प्रतविेदन माथ नगर कार्यपालिकाले कुठाराघात गरेको, छानबिन समितिको आरोप रहेको छ ।  

तर बेलकारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले भने छानबिन समितिले प्रदान गरेको प्रतिवेदन अनुसार सबै कुरा समेटेको बताएका छन् । नयाँ विषयमा तरिका र भाषाशैली केही फरक परे पनि सबै कुरा समेटेको सुवेदीको दाबी रहेको छ । जस्ताको त्यस्तै प्रतिवेदन सार्वजनिक गर्ने विषयमा छानबिन समितिले निवेदन समेत पेस गरेको नगर प्रमुख सुवेदीले जनाएका छन् । छानबिन समितिले तयार गरेको प्रतिवेदनका विवरणका केही कुरा पनि नहटाएको सुवेदीले बताए । छानबिन समितिले तयार गरेको १६० पानाको प्रतिवेदन नगरपालिकाको सम्पत्तिको रूपमा संरक्षित हुने सुवेदीले बताएका छन् ।

उनले भने, ‘कतिपय सार्वजनिकै नगर्ने धेरै कुराहरू छन् । तर हामीले सार्वजनिक नगर्ने गरी हैन, गर्ने गरी नै बनाएको हुँदा कार्यपालिकाको बैठकले अनुमोदन गरेर तयार गरेको प्रतिवेदन सार्वजनिक गरेको हो । जुन विषय क्षेत्र नमिलेका ती कुरामा हामी प्रवेश गर्दैनौ । बोयर बाख्रासँग जोडिएका कुराहरू केही पनि नहटाई सारंसमा निष्कर्ष र सुझावका कुरालाई उल्लेख गरेका छौ । पूर्णपाठ गर्नु समयको अभावको कारण जिष्टमा सबै समेटेको हौ ।’ 

प्रतिवेदन तयार पारिरहँदा सम्म सबै राजनीति पार्टी प्रतिनिधि अनुपस्थिति रहनु राम्रो सङ्केत नभएको बताएका छन् । उनले समितिले तयार पारेको प्रतिवेदनलाई सङ्क्षेपकिरण गरेर आउँदा कुन कुरालाई आधिकारिकता मान्ने भनेर प्रश्न उठेको बताए । हुबहु सार्वजनिक गर्नु पर्ने कुरामा सुवेदीले जोड दिएका छन् । 

जनता समाजवादी पार्टी, बेलबारी नगर कमिटीका अध्यक्ष तिलक राईले नगरपालिकाको कार्यान्वयन पक्ष कमजोरी देखिएको बताएका छन् । जिम्मेवारी अनुसार काम नहुनु भनेको भ्रष्टाचार प्रमाणित भएको राईले बताएका छन् । राईले पनि छानबिन समितिले तयार गरेको प्रतिवेदनै पूर्ण रूपमा सार्वजनिक गर्नु पर्ने बताए । कार्यक्रममा काँग्रेस र नेकपा एमालेका पार्टी प्रतिनिधिको भने उपस्थिति थिएन ।

प्रतिवेदन

प्रतिक्रिया दिनुहोस्