भरुवा बन्दुक र हरिणको सिङसहित बेलबारीबाट एक जना पक्राउ


बेलबारी, २२ भाद्र । भरुवा बन्दुक र वन्यजन्तु हरिणको सिङसहित बेलबारीबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका–१ का ५२ वर्षीय आसबहादुर लिम्बू रहेको प्रहरीले जनाएको छ । 

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार बेलबारी नगरपालिका–१ का ५२ वर्षीय लिम्बूले आफ्नै घरमा हरिणको ५ वटा सिङ लुकाइ राखेको अवस्थामा बरामद गरेको छ  । घरबाट वन्यजन्तुका अङ्गको फेला परेका लिम्बूको वन्यजन्तु अङ्गको अवैध कारोबार एवं तस्करीमा पनि संलग्नता हुनसक्ने प्रहरीको अनुमान रहेको छ । साथै प्रहरीले लिम्बूको घरबाट भरुवा बन्दुकसमेत बरामद गरेको छ ।

प्रहरीले लिम्बूले घरमै भरुवा बन्दुकको कारखाना सञ्चालन गरेर बिक्री गर्ने गरेको दाबी गरेको छ । सुराकको आधारमा लिम्बूको घरमा छापा मार्दा लोड गरिएको भरुवा बन्दुकसहित बन्दुक बनाउन प्रयोग गरिने ४ वटा काठ, पड्किने फलामको पासो, १ किलो बारुद, बन्दुक सफा गर्ने रड, ३ वटा काँजो, बसिला, राँबो, हथौडा, आरा लगायत बन्दुक बनाउन प्रयोग गरिने विभिन्न औजार बरामद भएको प्रहरीका प्रवक्ता डिएसपी श्रेष्ठका बताएका छन् ।

प्रहरीले लिम्बूविरुद्ध हातहतियार खरखजना तथा विष्फोटक पदार्थ ऐनअन्तर्गत मुद्दा चलाउन सोमबार म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाएको छ । 

प्रतिक्रिया दिनुहोस्