माधव लाइनका बेलबारीका मेयर एमालेमै रहे : जनप्रतिनिधि कसैले एकीकृत समाजवादीमा सनाखत गरेनन्


बेलबारी, २२ भाद्र । ठूलो हिस्सामा जनप्रतिनिधि नवगठित पार्टीमा जाने अनुमान गरिएको भए पनि बेलबारी नगरपालिकाबाट कुनै पनि जनप्रतिनिधिले एकीकृत समाजवादीमा सनाखत गरेनन् । नगरप्रमुख, उपप्रमुख र पाँच जना वडा अध्यक्ष गरी ६० जनामध्ये ४३ जना एमालेबाट विजयी भएको बेलबारी नगरपालिकाबाट निर्वाचन आयोगले तोकेको समय अवधिमा कोही पनि जनप्रतिनिधिले सनाखत गरेनन् । 

पार्टीभित्रै रहेर अन्तरसङ्घर्ष गर्ने निर्णय भएकोले आफूहरू सनाखत गर्न नगएको बेलबारी नगरपालिका वडा नं ३ का अध्यक्ष एवम् नगर प्रवक्ता योगेन्द्र सुवेदीले जानकारी दिएका छन् । सबैको सल्ला अनुसार नै यस्तो निर्णय गरिएको बताए । यस अघि वडा नं १ का अध्यक्ष चक्र खुलाल्, ३ नं वडा अध्यक्ष योगेन्द्र सुवेदी लगायतको समूहले नयाँ दलमा सनाखत गर्ने बताइएको थियो । तर अन्तिम समयमा आएर कसैले पनि सनाखत गरेनन् । 

नेकपा एमाले पार्टी विभाजनपूर्व भने उपप्रमुख ढाकाकुमारी पराजुली र वडा नं २ का अध्यक्ष घनश्याम गौतम, नगर कार्यपालिका सदस्य नीशाकिरण राई लगायत सानो समूह मात्र ओली समूहमा थिए । तर पार्टी विभाजन पछि भने धेरैले नेपालको साथ छाडेका थिए ।

नेपाल समूहमै रहेका वडा नं ६ का अध्यक्ष उदयबहादुर राईले भने पार्टी विभाजनसँगै नेपालको पक्ष छाड्ने घोषण गरेका थिए । जनताले एमाले पार्टीको चुनाव चिन्हबाट जिताएर पठाएका हुन् त्यही भएर आफू नयाँ पार्टीमा नजाने एमाले नै रहने बताएका थिए । तर बाँकी भने यसरी खुलेका थिएनन् । भाद्र २१ गतेसम्ममा पनि केही जनप्रतिनिधि भने विराटनगर गएर सनाखत गर्ने तयारीमा रहेको बताइ रहेका थिए ।  

बेलबारीमा मेयर ज्ञानेन्द्र सुवेदी यस क्षेत्रका पुराना वामपन्थी नेता मानिन्छन् । उनी नेपाल पक्ष नेता मानिन्थे । राम्रै प्रभाव जमाएर बसेका मेयर सुवेदी जतापट्टि लाग्छन् त्यतैतिरको पल्ला भारी हुने अनुमान थियो । उनी नयाँ दलमा गए पचास प्रतिशत जनताले एकीकृत समाजवादीलाई सघाउने एमालेकै एक जना नेताले आंकलन् गरेका थिए । 

नेकपा एमाले विभाजनपछि नयाँ दल रोज्नका लागि मङ्गलवार सम्मको समय दिइएको थियो । निर्वाचन कार्यालय मोरङका अनुसार मोरङका आठ जना जनप्रतिनिधिले मात्र नयाँ पार्टी रोजेका छन् । तीमध्ये चार जना वडाध्यक्ष र चार जना वडा सदस्य रहेका छन् ।  १० जना प्रदेश सांसदले रोजेको नयाँ पार्टीमा जनप्रतिनिधिको सङ्ख्या भने न्यून देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्