एकीकृत समाजवादीमा जान पाउँ भन्ने माग गर्दै सर्वोच्चमा रिट


काठमाडौँ, २३ भाद्र । नेकपा एकीकृत समाजवादीमा जान पाउँ भन्ने माग गर्दै दुई जना सांसदले सर्वोच्चमा रिट दायर गरेका छन् । नेकपा एमालेका सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले आफूहरूलाई नेकपा एकीकृत समाजवादीको सांसद कायम गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका हुन् ।

बुधवार प्रतिनिधिसभा सदस्य पाण्डे र राष्ट्रियसभा सदस्य भट्टले सर्वोच्च अदालतमा दिएको रिटमा आफूहरूले समयमा नै एकीकृत समाजवादी रोजे पनि निर्वाचन आयोगले सनाखत नगरी दिएको भन्दै एकीकृत समाजवादी दल कायम गर्न अन्तरिम आदेश माग गरेका छन् । उनीहरूले मुद्दाको अन्तिम किनारा नलाग्दासम्म आफूहरूमाथि एमालेले गर्न सक्ने कारबाही रोक्न पनि अन्तरिम आदेश माग गरेका छन् ।

निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी रोजेका केन्द्रीय सदस्य र सांसदलाई सनाखत गर्न बोलाउँदा पाण्डे र भट्ट पनि आयोग कार्यालय पुगेका भए पनि पहिले दिएको निवेदनमा नाम नरहेको भन्दै आयोगले उनीहरूको नाममा सनाखत गर्न अस्वीकार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्