कविता – रेजिना आपगाईँ



इच्छा

चराहरूको रात्री स्वप्न 

पूरा हुनुभन्दा अगाडि

निशालाई चिरेर रविले

निर्वाध स्पर्श गरेजस्तै पृथ्वीलाई

निर्विरोध टेक्न  पाउन्  हरेक नेपालीले 

दुई पाउ जमिन ।

पूरा बनोस् तीन करोड आँखाले 

एकैसाथ देखेको 

बुद्धको छातीजस्तै  शान्त नेपाल

निर्माण गर्ने अभिनव सपना

विदेशबाट आउने ठुलो जहाजमा 

हरेक दिन नेपालबाट नउडुन्

अभावका रित्ता झोलाहरू ।

हाम्रै बारीमा फल्ने अनारका दानाहरूले

सिकाइ रहन्छन् मेलमिलापको पाठ

मकैका दानाहरू टम्म मिलेर 

बसेजस्तै  खोयाहरूमा

सबै नेपाली निर्विवाद बस्न सकुन् 

साझा आकाशमुनि ।

हरेक रात सपनामा देखेको 

फराकिलो बाटो

उज्यालो नेपाल

छिट्टै विपना बनोस्

कर्णालीले पनि देख्न पाओस्

समृद्धिको अनुहार

जुम्लाको स्याउसँग 

ओलाङ्चुङगोलाको राडी पाखी

साट्न सकुन् नेपालीले ।

युवाको पसिनाले सिञ्चित भएर

जन्माउन पाओस्

आफ्नो उर्वर गर्भबाट

माटोले लहलह अनाजपात ।

कोदाली र जिन्दगी 

पर्यायवाची बुझेका बिर्खे दाइ

थाप्लोको नाम्लो र सुख 

एउटै सम्झेकी 

मेरी बुढी आमाले

लिन पाउन्  एक फोक्सो 

सुखको सास

धनुले रेटेजस्तै 

सारङ्गीको शरीर

महलहरूले रेट्न नपाउन 

झुपडीको मुटु ।

चित्रकारले क्यान भासमा 

कोरेजस्तै सफल चित्र

पाठशालामा हाम्रा 

कलिला नानीहरूले

कोर्न पाउन् उज्ज्वल भविष्यका 

सुनौला तस्बिरहरू ।

सत्तामा गण्डकीको जलजस्तै 

निष्कपट अनुहार 

देख्न पाइयोस् ।

पानी परेर खुलेको 

आकाश जस्तै मन भएका 

सयौँहुल मान्छेहरू अटाउने 

एउटा सुन्दर  वाटिका 

बनाउनु छ अब

जहाँ  खुसीले फुल्न पाओस्

चार जात छत्तीस वर्णजहाँ फुल्न पाओस् 

हिमाल पहाड तराई ।

-तेह्रथुम ।


(सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा दिवस २०७८को अवसरमा आयोजना गरेको राष्ट्रव्यापी कविता प्रतियोगितामा प्रथम स्थान हासिल गरेको कविता ।) 

प्रतिक्रिया दिनुहोस्