लागू औषध गाँजासहित बेलबारीबाट तीनजना युवा पक्राउ


बेलबारी, २४ भाद्र । मोरङको बेलबारीबाट प्रहरीले अवैध लागू औषधसहित तीनजना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका वडा नं–१ का वर्ष ३५ का सन्तोष राई र वर्ष ३० का ज्ञानु राज राई र धनकुटा शहिदभूमि गाउँपालिका वडा नं–३ बस्ने वर्ष–२८ का महेश्वर राई रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार गोप्य सूचनाका आधारमा घरतलासी गर्दा बेलबारी नगरपालिका वडा नं–१ का सन्तोष राई र ज्ञानु राज राईको कोठाबाट १९ केजी ६५० ग्राम लागु औषध गाँजा बरामद गरेको छ । 

प्रहरीले सन्तोषको काठाबाट ४ केजी ६५० ग्राम र ज्ञानुराजको कोठाबाट १५ केजी गाँजा बरामद गरेको बताएको छ । प्रहरीले उक्त घटनामा संलग्नताका आधारमा धनकुटा शहिदभूमि गाउँपालिका वडा नं–३ का महेश्वर राई पक्राउ गरेको छ । 

पक्राउ गरेका तीनैजनाविरुद्ध प्रहरीले लागुऔषद कसुरमा जिल्ला अदालत मोरङबाट म्याद थपेर अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्