तालिबानद्वारा पाँच जना पत्रकार गिरफ्तार


काठमाडौँ, २४ भाद्र  । तालिबान सरकारद्वारा पाँच जना पत्रकार गिरफ्तार भएका छन् । मुल्लाह मोहम्मद हसन अखुन्दको नेतृत्वमा अन्तरिम सरकार गठन भएको भोलिपल्ट बुधवार नै पाँच जना पत्रकार पक्राउ परेका हुन् । तालीवादी सेनाले काबुलस्थित एक पत्रिकाको कार्यालयमा प्रवेश गरेर पाँच जना पत्रकारलाई गिरफ्तार गरेका बताइएको छ । 

‘इटिलाट्रोज’ नामक पत्रिकाका प्रधान सम्पादक जाकी डार्याबीले आफ्ना पाँच सहकर्मीलाई तालिबानले गिरफ्तार गरेको पुष्टि गरेका छन् । उनले सामाजिक सञ्जाल इटिलाट्रोज दैनिक पत्रिकामा कार्यरत आफ्ना पाँच सहकर्मी पत्रकारलाई तालिबान समूहका व्यक्तिहरूले काबुलबाटै पक्राउ गरेर लगेको बताएका हुन् ।

तालिबान समूहले सत्ता कब्जा गरेपछि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारका अधिकारको पूर्ण सम्मान गर्दै त्यसमा कुनै अवरोध नगर्ने प्रतिबद्धता अन्तर्राष्ट्रिय समुदायसामु गरे पनि सरकार बनाएको भोलिपल्टै आफ्नो  प्रतिबद्धताको उलङ्घन गर्दै पत्रकारलाई पक्राउ गरेको भन्दै सर्वत्र आलोचना सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्