सरकारको पूर्णता तथा एमसीसीका बारेमा धारणा बनाउन मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौँ, २५ भाद्र । सरकारको पूर्णता तथा एमसीसीका बारेमा धारणा बनाउन मन्त्रिपरिषद् बैठक बस्दै छ । सत्तारुढ गठबन्धनको बैठक सकिएपछि मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद् बैठक ११ः४५ लाई डाकिएको छ । अमेरिकी सहायता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमार काठमाडौँ आएर विभिन्न दलका नेता तथा पूर्व प्रधानमन्त्रीहरुसँग भेट गरिरहेको बेलामा बस्न लागेको मन्त्रिपरिषद् बैठकलाई महत्त्वका साथ हेरिएको छ ।

सुमारले यसअघि प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका उपेन्द्र यादव र बाबुराम भट्टराई र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटिसकेकी छिन् । 

एमसिसी परियोजनाबारे नेपालमा चर्को विरोध भइरहेका बेला सुमारसहितको टोली नेपाल भ्रमण आएको हो । यता राजनैतिक पार्टी र जनस्तरमा भने एमसीसीको व्यापक विरोध भइरहेको छ । एमसीसी नेपालको हितमा नरहेको भन्दै सम्झौता नगर्न जनताले दवाव दिइरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्