वर्तमान सरकारद्वारा १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट प्रस्तुत


काठमाडौँ, २५ भाद्र । वर्तमान सरकारले चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गरेको छ । बजेट अध्यादेशमार्फत अघिल्लो सरकारले ल्याएको बजेट अङ्कलाई घटाउँदै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको छ । 

अर्थमन्त्री जनार्दन शर्माले आजको प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक २०७८, विनियोजन विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ प्रस्तुत गरेका छन् । मन्त्री शर्माले चालू आवको लागि पहिलेको बजेट घटाउँदै प्रतिस्थापन विधेयकमार्फत १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिए ।

कुल विनियोजनमध्ये चालूतर्फ ६ खर्ब ७७ अर्ब १९ करोड अर्थात् (४१.४२ प्रतिशत), पुँजीगततर्फ ३ खर्ब ७८ अर्ब १० करोड अर्थात् (२३.१६ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४४ करोड अर्थात् (११.६० प्रतिशत) र प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८७ अर्ब ३० करोड अर्थात् (२३.७२ प्रतिशत) रहेको उनले जानकारी दिए ।

यसअघि गत जेठ १५ मा अघिल्लो सरकारले अध्यादेशबाट १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेट ल्याएको थियो ।  

प्रतिक्रिया दिनुहोस्