एमसीसी उपाध्यक्ष फातिमा र प्रधानमन्त्रीबिच भेटवार्ता


काठमाडौँ, २६ भाद्र । प्रधानमन्त्री शेरबहादुर देउवा र एमसीसी उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ । शुक्रवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री देउवसँग फातिमाले भेट गरेकी हुन् ।

भेटमा एमसीसी कम्प्याक्ट र नेपालको आर्थिक रूपान्तरणका सम्भावनाहरूसहित नेपाल–अमेरिका सहयोगबारे छलफल भएको प्रधानमन्त्री देउवाले बताएका छन् । फातिमाले राजनैतिक पार्टीका प्रमुखहरूसँग भेटलाई निरन्तरता दिइरहेकी छिन् । फातिमाले प्रधानमन्त्रीलाई भेट गर्नुभन्दा अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटेकी थिइन् ।

उनले शुक्रवार नै जलस्रोत तथा उर्जामन्त्री पम्फा भुसाललाई समेत भेटेकी थिइन् । यस्तै उपाध्यक्ष फातिमाले बिहीवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपाल (जसपा) का उपेन्द्र यादव र डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेकी थिइन् ।

सुमारसहितको टोली नेपालमा आएर भेटघाटलाई तीव्रता दिइरहँदा जनस्तरमा भने यसको व्यापक विरोध भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्