एमसीसीमा ‘मूर्खता’ नगर्न प्रधानमन्त्रीलाई प्रकाण्डको चेतावनी, भने, ‘देशमा आगो बल्छ’


काठमाडौँ, २६ भाद्र । नेत्रविक्रम चन्द ‘विप्लव’ नेपाल कम्युनिस्ट पार्टीका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) मा ‘मूर्खता’ नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई चेतावनी दिएका छन् ।

एमसीसीविरुद्धको पहिलो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्दै नेता ‘प्रकाण्ड’ ले भदौ २८ गते राजधानीमा एमसीसीविरुद्ध वृहत् प्रदर्शन गरिने जानकारी गराए । एमसीसीलाई नेपालबाट सधैँका लागि भगाउन एकखालको आन्दोलनको आवश्यकता रहेको उनले बताए । एमसीसी राष्ट्रियतासँग सम्बन्धित मात्र नभए देशको जल स्रोतलगायत अन्य प्रकृति संरक्षणको विषय समेत रहेको बताउँदै उनले यसको विरुद्धमा सबै एकजुट हुनुपर्ने बताए ।एमसीसीको विषयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले एमसीसीको विरुद्धमा पार्टीले आन्दोलनको कार्यक्रम घोषणा गरेको जानकारी गराउँदै संसद्बाट एमसीसी पास गराउने षड्यन्त्र भइरहेको बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले मूर्खता गरे भने देश आन्दोलनको भुमरीमा फस्ने चेतावनी उनले दिए ।


एमसीसीलाई समाजका हरेक तप्काले विरोध गर्दै आइरहेको र विरोध गर्न कोही पनि बाँकी नरहेको बताउँदै नेता प्रकाण्डले यस अवस्थामा पनि संसद्बाट पारित गराउने प्रयास भइरहेको दाबी गरे । ‘यहाँसम्म कि एमसीसीको बारेमा सत्तारुढ गठबन्धनमै विवाद भइरहेको छ, उनीहरूकै बिचमा सहमति भएको छैन । यस अवस्थामा पनि त्यसलाई पारित गराउने प्रपञ्च भइरहेको छ,’ उनले दाबी गरे ।


जति प्रपञ्च भए पनि आफूहरूको दल त्यसको विरुद्धमा उभिने बताउँदै उनले संसदीय दलहरू विदेशी सामु घुँडा टेकेको आरोप लगाए । आफूहरूको दल एमसीसीको विरुद्ध सङ्घर्षमा रहेको बताउँदै उनले ५० करोड अमेरिकी डलरमा देशलाई बेच्न खोजेको आरोप लगाए ।
नेपालकै रकमलाई राम्रोसँग खर्च गरियो विकास पर्याप्त हुने तर ५० करोड अमेरिकी डलरमा कमिसन खान पाइन्छ भन्दै केही नेताहरू त्यो पास हुनुपर्ने अडानमा रहेको उनले दाबी गरे । यदि एमसीसी पास भएर लागु भयो भने देशमा आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी पनि दिए ।
‘देश धेरै अप्ठ्यारोमा छ, त्यो अप्ठ्यारो जनताले बनाएको छैन, यी राजनीतिक दलका नेताहरूका कारण देश सङ्कटको भुमरीमा फसेको छ,’ उनले देशलाई सङ्कटबाट बचाउन आफूहरू बाहिर आएको दाबी गरे । फरक प्रसङ्गमा, सरकारसँग तीन बुँदे सहमति गरेको तर त्यो कार्यान्वयन नभएको बताउँदै नेता प्रकाण्डले नेपाली क्रान्तिविरुद्ध षड्यन्त्र भएको बताए ।


तीन बुँदे सम्झौता गरे पनि आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई नछाडेको दाबी गर्दै उनले आफ्ना केही नेताहरू जेलबाट कानुनअनुसार रिहा भएको र यसमा सरकारको कुनै सहयोग नरहेको दाबी गरे । ‘माग सम्बोधन भएन भने एक पटक जनतासँग संवाद गर्छौ र फेरि आन्दोलनमा जान्छौँ,’ उनले भने, ‘हामीलाई फेरि आन्दोलनमा धकेल्ने प्रयास नगरोस् ।’ संसदीय चुनाव होइन, जनमत सङ्ग्रह हुनुपर्ने कुरामा जोड दिँदै उनले जनमत सङ्ग्रह नभए भने जनता आफैले वैज्ञानिक समाजवादको लागि आन्दोलन गर्ने उनको दाबी थियो । (नयाँ पेजबाट) 

प्रतिक्रिया दिनुहोस्