सङ्खुवासभा हत्या आरोपी भन्छन् –अरूलाई मार्ने बिचार थिएन तर घटना बाहिर आउने डरले सबैको हत्या गर्नु पर्‍यो’


सङ्खुवासभा, २७ भाद्र । सङ्खुवासभाको सामूहिक हत्याकाण्ड कार्की परिवारकै नाता पर्नेबाटै भएको रहस्य बाहिर आएको छ । सङ्खुवासभा मादी नगरपालिका–१ उम्लिङमा गत सोमबार एकै परिवारका ६ जनाको हत्या अभियोगमा प्रहरीले कार्की परिवारकै छिमेकी २६ वर्षीय एक युवकलाई पक्राउ गरे पछि उक्त तथ्य बाहिर आएको हो ।

हत्याको आरोपमा प्रहरीले २६ वर्षीय लोकबहादुर कार्कीलाई पक्राउ गरेका छन् । उनी मृतक तेजबहादुरका नातामा भतिजा पर्ने व्यक्ति हुन् ।  सङ्खुवासभा ५२ वर्षीय तेजबहादुर कार्की सोमवार धान गोड्ने तयारीमा थिए । त्यसकै लागि खेताला खोज्न उनी बिहान पाँच बजेतिर घर मास्तिरको बाटो हुँदै उकालो लाग्दै गर्दा उनीमाथि पछाडिबाट प्रहार भयो र उनी ढले । त्यही प्रहारबाट उनको मृत्यु हुन पुग्यो । जुन घरमा उनी खेताला बोलाउन जान लागेका थिए, त्यही घरका व्यक्तिको प्रहारबाट उनको मृत्यु भयो । 

नाताले भतिजो पर्ने छिमेकी लोकबहादुरको दाउराको चिर्पटको प्रहारबाट श्रीमान् ढले पछि तेजबहादुरकी ५८ वर्षीय श्रीमती मनमाया अत्तालिँदै घटनास्थलमा पुगिन् । उनलाई पनि त्यही चिर्पटले प्रहार गरेर लोकबहादुर हत्या गरे । सासू ससुरालाई मारेको देखेर २५ वर्षीय बुहारी रञ्जना त्यहाँ पुगिन् । उनी पनि लोकबहादुरको प्रहारबाट बाँच्न सकिन्न । उनी पनि ढलिन् । आमालाई मारेको देखेर उनका १० वर्षीय नाति दीपक र ५ वर्षीय छोरी गोमा चिच्याएको देखेर लोकबहादुरले उनीहरूलाई खेदाइ खेदाइ मारे । अन्त्यमा लोकबहादुरले कुँडो पकाउँदै गरेको अवस्थामा ८४ वर्षीय वृद्धा पार्वताको हत्या गरे । उनलाई पहिला भित्तामा टाउको बजारेको र पछि हिर्काएर मारेको ती युवकले बयानको क्रममा बताएको प्रहरीले बताएका छन् । यसरी एउटै घरका ६ जनाको हत्या भयो । 

सुरुदेखि नै प्रहरीले लोकबहादुरलाई शङ्कामा राखेका थियो तर प्रमाणको अभावमा पक्राउ गर्न सकेको थिएन । तर जब लोकबहादुरको घरमा घटनामा प्रयोग भएको लुगा भेटियो त्यसपछि भने प्रहरी उनलाई नियन्त्रणमा लिएको प्रहरी जनाएको छ । 

यो हत्याको पत्ता लाउन प्रहरीले तालिमप्राप्त कुकुर कोसमेत प्रयोग गरेको थियो । तर कुकुरले पनि पत्तालाउन नसके पछि झन् रहस्यमय बन्न पुगेको थियो । तर यसरी लामो समयसम्म रहस्यमै रुमल्लिएको यो सामूहिक हत्या काण्डको रहस्य प्रहरीले पत्ता लगाउन सफल भएको छ ।

प्रहरीले लोकबहादुरको घरमा रगत लतपतिएको कपडा र हत्यामा प्रयोग भएको हतियार बरामद भएको बताएको छ । पक्राउ परेपछि लोकबहादुरले बयानको क्रममा मृतक तेजबहादुर आफूलाई हेप्ने गरेको, नमिठो बोल्ने गरेको, त्यही कारणले उनको हत्या गरेको बताएका छन् । अरूलाई मार्ने उद्देश्य नभए पछि घटना देखे पछि बाहिर आउने डरले अरूको पनि हत्या गर्नु परेको बताएका छन् । 

अविवाहित लोकबहादुरले लामो समयदेखि मानसिक रोगको औषधि खाने गरेको खुलेको छ । 

प्रतिक्रिया दिनुहोस्