‘सुन्दरहरैँचामा ब्याडमिन्टन च्याम्पियनसिप २०२१’ को शाखातर्फको उपाधि बेलबारी जेसिसलाई


सुन्दरहरैँचा, २७ भाद्र । मोरङको सुन्दरहरैँचामा जारी ‘सुन्दरहरैँचा ब्याडमिन्टन च्याम्पियनसिप २०२१’ को शाखातर्फको उपाधि बेलबारी जेसिसले हाता पारेको छ । इन्दपुर जेसिसको आयोजनामा सुन्दरहरैँचा ८ सलकपुरमा रहेको दुर्गादेवी दुलाल स्पोर्ट्स ग्राममा जारी प्रतियोगितामा बेलबारी जेसीजका विकास श्रेष्ठ र सुवास श्रेष्ठको टिमले उपाधि जितेको हो ।

शाखातर्फकै कमलनगर जेसीजका अविनाश राई र ज्ञानेन्द्र दाहालको टिम दोस्रो, भद्रपुर जेसीजका प्रज्वल ओझा र गुरुप्रसाद राईको टिम र टंकीसिनवारी जेसीजका सुप्रीम पन्त र सूचक खड्काको टिमले तेस्रो स्थान हासिल गरेका छन् । 

उता कर्पोरेटतर्फको उपाधि भने जनरल इन्सोरेन्स धरानले हात पारेको छ । जनरल इन्स्योरेन्सका प्रनिस सिंह ठकुरी र सत्यम् सुब्बाले उपाधि हात पारेका छन् । कर्पोरेटतर्फकै मन्जरी पेन्टस् इटहरीका आशिष जबेगु र दिनेश शंकरको टिमले दोस्रो स्थान हासिल गरे भने पूर्वाञ्चल पोलिमर एक्रेलिक प्रा.लि. सुन्दरहरैँचाका नवीन सिलवाल र भोजबहादुर गुरुङको टिम र लायन्स क्लब अफ इन्द्रपुरका खेलाडी उत्तम शिवाकोटी र फुर्टेम्बा शेर्पाको टिमले तेस्रो स्थान हासिल गरेका थिए । 

प्रतियोगितामा शाखातर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः  रु २५ हजार, १५ हजार र ७ हजार ५ सय सहित प्रमाणपत्र र मेडल तथा ट्रफी हात पारेका छन्  भने कर्पोरेटतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः  रु ३१ हजार, २१ हजार र ११ हजार रुपैयाँ सहित प्रमाणपत्र, मेडल र ट्रफी हात पारेका छन् । 

प्रतियोगिताका विजयी खेलाडीलाई सुन्दरहरैँचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङले नगद, पदक तथा प्रमाण पत्र प्रदान गरेकी थिइन । 

प्रतिक्रिया दिनुहोस्