उपकुलपति गिरीको ‘प्राध्यापक’ उपाधि नक्कली भएको खुलासा


धरान, २८ भाद्र । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कार्यरत उपकुलपति डा. ज्ञानेन्द्र गिरीको प्राध्यापक पद नक्कली भएको पाइएको छ ।  सरकारले प्राध्यापकको हैसियतले प्रतिष्ठानमा उपकुलपति नियुक्त भएका गिरीले पेस गरेको कागजात नक्कली भएको बताउँदै उनलाई कानुनी कारबाही अगाडि बढाउने बताएसँगै उनी अप्ठ्यारोमा परेका छन् ।

गिरीलाई अघिल्लो सरकारका पालामा नियुक्ति दिइएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गिरीको प्राध्यापक उपाधि नक्कली भएकोले कानुनी प्रक्रिया सुरु भइसकेको जनाएको छ । मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी प्रतिष्ठानका उपकुलपति गिरीको प्राध्यापक भन्ने प्रमाण फेला नपरेको बताएको छ । प्राध्यापक उपाधिमाथि प्रश्न उठेपछि त्यसको छानबिन भइरहेको थियो । प्रमाण पत्र खोजी गर्दा उनले उपलब्ध गराएका डकुमेन्टअनुसार उनी प्राध्यापक भएको पुष्टि नभएको बताइएको छ ।  

बिपी प्रतिष्ठान सुधारका लागि लामो समय सम्म आन्दोलन चलेको थियो । आन्दोलनरत पक्ष र छानबिनसमतिविच सम्झौता भएर आन्दोलन टुङ्गिएको थियो । आन्दोलनरतका मागका विषयमा जारी विज्ञप्तिको ६ नम्बर बुँदामा लेखिएको छ, ‘उपकुलपति प्राध्यापक भएको भन्ने प्रमाण प्राप्त नभएकाले प्रचलित कानुनबमोजिमको प्रक्रिया सुरु भइसकेको छ ।’

यता उपकुलपति गिरीले आफू प्राध्यापक भएको भन्दै नामको अगाडि प्रा.डा. लेख्दै आएका थिए ।   

प्रतिक्रिया दिनुहोस्