फातिमा सुमार भन्छिन् ‘एमसीसीले पास गर्न ढिलाइ गर्नु हुँदैन’


काठमाडौँ, २८ भाद्र । मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमारले एमसीसी सम्झौता नेपाल सरकारकै आग्रहमा भएको बताएकी छिन् । केही दिनदेखि नेपालको उच्च राजनैतिक भेटमा सक्रिय उपाध्यक्ष सुमारले नेपाले अनुमोदन नगरी एमसीसी कार्यान्वयनमा आउन नसक्ने हुँदा यसलाई चाँडो पास गराउनु पर्ने बताएकी हुन् ।

फातिमा सुमारसहितको टोलीले नेपालका उच्चस्तरीय भेटघाटमा रहेको छ । यसक्रममा यो टोलीले राजनैतिक पार्टी तथा सरकारका मन्त्रीहरूसँग वार्ता गरेर एमसीसी पास गराउन आग्रह गरिरहेको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलाबाट भेटघाट सुरु गरेको टोलीले देशका राजनैतिक पार्टीका प्रमुख नेताहरूसँग वार्ता गरिसकेको छ भने प्रधानमन्त्री शेरबहादुरसँगको भेटमासमेत उनले एमसीसी पास हुने वातावरण बनाउन आग्रह गरेकी थिइन् । उनले यो सम्झौता भएपछि अहिलेसम्म नेपालमा ८ वटा सरकार बनिसकेको र यी सबै सरकारले कार्यान्वयनको प्रतिबद्धता जनाएको उल्लेख गरिन् ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा सुमारले यो सम्झौतालाई नेपालको आर्थिक हितसँग जोडेर हेर्नुपर्ने बताएकी छन् । यो सम्झौताले कोरोनाबाट थलिएको नेपालको अर्थतन्त्रलाई फाइदा पुर्‍याउने बताउँदै सम्झौताको टुङ्गो चाँडो लाउनु पर्ने बताइन् । उनले एमसीसी सम्झौताका विषयमा नेपालको संसदले छिटो निकास दिनुपर्ने उनको भनाइ रहेको छ ।

एमसीसीको टिम नेपालमा आएर भेटघाटलाई तीव्रता पारिरहँदा जनस्तरमा भने यसको व्यापक विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्