५७ औँ बाल दिवसमा बेलबारीमा विविध कार्यक्रम


बेलबारी, ३० भाद्र । ५७ औँ बाल दिवसका अवसरका बेलबारीमा रहेका विद्यालय तथा सङ्घ संस्थाहरूले प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरेका छन् । ५७ औँ बालदिवशको अवसर पारेर ड्रिम साइकल नेपाल तथा आदर्श युवा क्लबले भर्चुअल रूपमा सञ्चालन भएका कविता तथा वक्तृत्वकला प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण गरिएको छ । 

बेलबारी नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा प्रतियोगिताका विजयी बालबालिकालाई कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदीले पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका थिए । कवितातर्फ कान्तिपुर कलेज विराटनगरका नीरज चौधरी प्रथम, सगरमाथा इ स्कुल, बेलबारीकी कृतिका खतिवडा दोस्रो, र माउन्ट एभरेस्ट इ स्कुल बेलबारी ११ की प्रकृति भेटवाल तेस्रो भएका थिए भने वक्तृत्वकलातर्फ शिक्षा सन्देश इ स्कुल, बेलबारी २ की छात्रा दीक्षा कार्की प्रथम, माउन्ट एभरेस्ट इ. स्कुलकी अमिशा राउत दोस्रो र सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैँचाका योगेश दाहाल तेस्रो भएका थिए ।  

पुरस्कार वितरण कार्यक्रममा बेलबारी नगरपालिकाका शिक्षा शाखा अधिकृत एलिना बस्नेत, क्लबका संरक्षक एवम् माउन्ट एभरेस्ट इङ्लिस स्कुलका प्रिन्सिपल जगत बस्नेत, महिला अधिकार मञ्चकी प्रदेश संयोजक सीता सुवेदी, भगवती माविका व्यवस्थापन समितिका अध्यक्ष प्रताप थापा, इलाका प्रहरी कार्यालयकी महिला तथा बालबालिका सेलकी प्रतिनिधिले बालबालिका अधिकारका बारेमा बोलेका थिए । 

ड्रिम साइकल नेपालका अध्यक्ष विपुल पोखरेलको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण कार्यक्रमको सञ्चालन भने सचिव सनम खतिवडाको रहेको थियो ।

 साथै ७५ औँ बालदिवशकै अवसरमा बेलबारी २ लालभित्तीमा रहेको मोरङ चिनारी इ. मा सचेत नेपाली विद्यार्थी सङ्घ प्रदेश नं १ को आयोजनामा विविध सांस्कृतिक कार्यक्रमको सञ्चालन भएको थियो । 

प्रतिक्रिया दिनुहोस्