नवौँ राष्ट्रिय विज्ञान दिवसको अवसरमा खगोल चित्रकला प्रतियोगिता सम्पन्न


विराटनगर, ३१ भाद्र । नवौँ राष्ट्रिय विज्ञान दिवसको अवसरमा खगोल चित्रकला (Astro Arts) प्रतियोगिता सम्पन्न भएको छ ।  विज्ञान शिक्षक समाज नेपाल प्रदेश न १ समितिको आयोजनामा सम्पन्न चित्रकला प्रतियोगिता नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आव्हानमा ‘स्पेस टुरिजम एण्ड कस्मोलोजी’ शीर्षकमा माध्यमिक विद्यालय (१ –१२) स्तरका विद्यार्थीहरुको सहभागितामा सम्पन्न भएको हो । 

‘विज्ञान तथा प्रविधिको उन्नत विकास : प्रकोप र महामारीबाट सहज निकास’ भन्ने नाराका साथ आयोजित कार्यक्रमका उद्घाटन विज्ञान शिक्षकहरूको संस्था स्टान (STAN) वरिष्ठ केन्द्रीय उपाध्यक्ष विकास गौतमले गरेका थिए । उक्त कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष श्री देवेन्द्रकुमार कर्ण, खगोलबिध वाल्मीकि विद्या पिठका प्राध्यापक डा. जयन्त राज आचार्य, एभरेस्ट साइन्स सेन्टरका सञ्चालक खगोलबिध इन्जिनियर सुदिप आचार्य र वरिष्ठ चित्रकार अनिल गुरुङ लगायतको सहभागिता रहेको थियो ।

प्रदेश नं १ का विज्ञानकर्मी, शिक्षक, विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा खगोल चित्रकला ( Astro Arts ) प्रतियोगिताका लागि १४ जिल्लाका करिब १०० जना प्रतियोगीले भाग लिएका थिए ।

भर्चुअल माध्यमबाट आयोजना गरिएको प्रतियोगितामा विष्णु मेमोरियल स्कुल धरानकी छात्रा साहिना अग्रवाल प्रथम, सत्यनारायण मावि विराटनगरकी छात्रा आरध्य सिंह द्वितीय र आदर्श सेकेण्डरी स्कुल विराटनगरकी छात्रा कृतिका राजवंशीले तृतीय स्थान हासिल गरेका थिए । 

त्यसैगरी कस्तुरी सेकेण्डरी स्कुल इटहरीकी छात्रा युनिया राई चौथो, एभरेस्ट स्कुल विराटनगरका छात्रा दीपा साह पाँचौँ, टेण्डरफिट बोर्डिङ स्कुलका छात्रा एन्जेलिना राई छैटौँ र गोदावरी विद्या मन्दिर बेलबरीका छात्रा सम्राट् परियारले सातौँ स्थान हासिल गरेको नेपाल विज्ञान शिक्षक सङ्घ प्रदेश न १ का तदर्थ समिति संयोजक अभय लिम्बुले जानकारी दिएका छन् ।

प्रतियोगितामा प्रथम हुनेले टेलिस्कोप प्राप्त गर्ने छन् भने बाँकी छ जना विद्यार्थीहरूले दूरबिन पाउने आयोजकले जनाएको छ । कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ केन्द्रीय उपाध्यक्ष विकास गौतमले अन्तरिक्ष विज्ञानको इतिहास र वर्तमान परिप्रेक्षकमा यसको महत्त्व उजागर गर्दै विज्ञान शिक्षाको महत्त्व र आजको आवश्यकताको बारेमा आफ्नो विचार राखेका थिए । 

साथै उक्त अवसरमा कार्यक्रमका विशिष्ट अतिथिहरू डा. जयन्त राज आचार्य, सुदिप अधिकारी, वरिष्ठ चित्रकार अनिल गुरुङ लगायतकाले शुभकामना व्यक्त गरेका थिए । 

नेपाल विज्ञान शिक्षक सङ्घ प्रदेश न १ तदर्थ समिति संयोजक अभय लिम्बूको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन भने प्रदेश न १ सूचना प्रवक्ता सचिन पौडेलको रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्